काठमाडौँ । राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामै राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार मध्यराति गरेको आदेश अनुसार मुद्दाको टुंगो नलाग्दासम्म उनीहरू थुनामै रहनेछन्।
थुनामा पठाइएकामा तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत र कुमार तामाङ छन्। अन्य ३२ जना भने धरौटीमा छुटेका छन्।
चैत १५ गतेको आन्दोलनमा पत्रकार सुरेश रजकको आगलागीमा ज्यान गएको थियो भने कीर्तिपुरका सविन महर्जनको प्रहरीको गोलीबाट मृत्यु भएको थियो। त्यस घटनाको नेतृत्व प्रसाईंले गरेको प्रहरीले जनाएको छ।
प्रसाईंविरुद्ध राज्यद्रोह, संगठित अपराध, कर्तव्य ज्यानलगायत अभियोगमा मुद्दा दायर गरिएको छ। अदालतले उनीहरूलाई तत्काल प्राप्त प्रमाणले निर्दोष ठहर गर्न नमिल्ने भन्दै थुनामा राख्न आदेश दिएको हो।
Comment