काठमाडौं । जनावरहरूको पक्षमा लामो समयदेखि काम गर्दै आएको एनिमल नेपालले पशु सेवा नियमावली विपरीत हुने गरी पशु चौपाया ढुवानी गरिएकोमा आपत्ति जनाएको छ ।
नेपालले मङ्गलबार कार्यक्रम आयोजना गर्दै दशैंमा विभिन्न जिल्लाबाट काठमाडौं उपत्यका ल्याइने पशु चौपायाको रक्षा र संरक्षण नभएको भन्दै पशु ढुवानी मापदण्ड २०६४ लागू हुनु पर्नेमा जोड दिएको छ ।
एनिमल नेपालकी कार्यक्रम संयोजक सुलक्षणा राणाले पशु ढुवानी मापदण्ड २०६४ अनुसार नियमावलीमा १२ वटा मापदण्ड उल्लेख गरिएको भए पनि त्यसलाई पालना गर्न व्यवसायीहरु तयार नभएको बताइन । पछिल्ला केही दिन यता राजधानीसँग जोडिने धेरै बाटोहरु भत्किएको भन्दै बाटो सहज नभएसम्म पशु ढुवानी रोक्नुपर्ने बताइन् । ‘मानव अधिकारका बारेमा धेरै चर्चा भए पनि अहिलेसम्म भने पशु अधिकार र कल्याणका विषयमा सामाजिक चेतना कम छ, चेतना स्तरलाई जति सक्दो धेरै बढाउनुपर्छ’ उनले भनिन् ।
लामो बाटोमा ट्रकभित्र पशुलाई जबरजस्ती कोचेर,त्रर्साएर भोकै ल्याएको मासु मानिसको लागि पनि हितकर नहुने राणाको आशय थियो । नियमावलीअनुसार नल्याइएका पशु चौपाया फिर्ता गर्ने अधिकार पशु क्वारेन्टाइनलाई भए पनि विभिन्न प्रकारको सेटिङमा उपत्यका भित्रिने गरेको राणाको भनाइ थियो । राणाले नेपाल प्रहरीले पशु व्यापारीसँग राजस्व उठाएर,जरिवाना लिएर मात्र दिर्घकालिनरुपमा समस्या समाधान नहुने बताइन ।
पशु नियमावलीअनुसार एउटा ट्रकमा बिस देखि एक्काइस वटा र धेरै वजन भएका अठार वटा मात्र राख्न पाइन्छ, भने पशुलाई गाडीमा दिनमा आठ घण्टाभन्दा बढी हिंडाउन पाइँदैन । गाडीमा घाँस, पराल र दाना राखेको हुनु पर्छ । बीचबीचमा ओरालेर आराम गराउने र दाना पानी खुवाउनुपर्ने मापदण्डमा उल्लेख छ ।
पशुपंक्षीलाई दुःख, पीडा र मानव सिर्जित क्रुरताबाट छुटकारा दिने लक्ष्य लिएर १५ वर्षअघि एनिमल नेपालको स्थापना भएको हो ।
यस्ता छन मापदण्ड
मापदण्ड अनुसार पशु ढुवानी गर्ने हरेक गाडीमा प्राथमिक उपचार बक्स हुनुपर्छ । त्यसैगरी शारीरिक बनावट फरक भएका पशु एउटै गाडीमा ढुवानी गर्न पाइँदैन । राँगा भैसीसँग पाडापाडी मिसाउन हुँदैन । सबै राँगाभैँसी, खसीबोकाको टाउको र मुख गाडीको अगाडिपट्टि चालकतर्फ फर्केको हुनुपर्छ ।
यसै गरी मापदण्डमा नाक र पुच्छर पनि बाँध्न पाइँदैन । राँगा, भैँसी, बोका खसी राख्ने गाडीमा ६ इन्च बाक्लो पराल, भुस वा सोत्तर राखेको हुनपर्छ । पशुको शरीर ठोक्किने गाडीको साइडमा फोम टाँसेको हुनुपर्छ । पशुलाई गाडीभित्र शून्य दशमलव ८४ देखि १ दशमलव २७ वर्गमिटर स्थान उपलब्ध हुनुपर्छ । यसो गर्दा एउटा ट्रकमा २० वटा जति पशु अटाउँछन् ।
पशुलाई गाडीमा दिनमा ८ घण्टाभन्दा बढी हिँडाउन पाइँदैन । गाडीमा घाँस पराल र दाना राखेको हुनुपर्छ । ८ घण्टा गाडीमा हिँडाएपछि ओरालेर दाना पानी खुवाउनुपर्छ । मापदण्ड अनुसार पशु ढुवानी गर्दा गाडीको रफ्तार प्रतिघण्टा ४० किलोमिटर हाराहारीमा मात्रै रहनुपर्छ । झ्याप्पझ्याप्प ब्रेक लगाउन र उफार्न पनि पाइँदैन ।
Comment