पाँचौँ राष्ट्रिय मह मेला आजदेखि, किसानलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । ‘दैनिक एक चम्चा मह सेवन स्वस्थ र दीर्घ जीवन’ भन्ने नाराका साथ आज बुधबारदेखि राजधानीमा “पाँचौँ राष्ट्रिय मह मेला २०८१” हुँदैछ ।

मह उत्पादन र खपत बढाउनका लागि व्यापक रुपमा सर्वसाधारणसम्म सूचना प्रवाह गर्ने उद्देश्यले मह मेला आयोजना गर्न लागिएको आयोजकले जनाएका छन् ।

स्वदेशी महको बजारीकरण तथा मह उत्पादक किसान, मह बिक्रेता र उपभोक्ताहरू बीचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घको आयोजना र नेपाल मौरीपालक महासङ्घ, नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घ लिमिटेड र व्यावसायिक किट विकास निर्देशनालयको सहआयोजना पाँच दिने मेला आयोजना गरिएको हो ।

नेपाल मौरीपालक महासङ्घका अध्यक्ष सुभाषचन्द्र घिमिरेले मह उत्पादक किसानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसँग जोड्न तथा विभिन्न स्रोतका महका बारेमा उपभोक्तालाई परिचित गराउने महोत्सवको उद्देश्य रहेको बताए ।

व्यावसायिक किट विकास केन्द्रका प्रमुख भोजराज सापकोटाले नेपाली मह विश्वमै उत्कृष्ट हुँदाहुँदै बजार नपाएकाले अहिलेको अवस्थालाई चिर्न महोत्सवले प्रभावकारी भूमिका खेल्ने अपेक्षा रहेको बताए। परागसेचन, निर्यातको सम्भावना, खाद्य सुरक्षामा टेवा पुर्‍याउने मह र यसको उपयोगितालाई सबै सामु चिनाउन महोत्सव आयोजना गरिएको उनको भनाइ छ ।

मेलामा मह काढ्ने तरिका, महसम्बन्धी सूचनामूलक जानकारी, मौरीपालनका नवीनतम प्रविधिहरूको प्रदर्शनी, मौरीसँग सम्बन्धित सरोकारवालाहरूबीच अन्तरक्रिया तथा गोष्ठी आयोजना हुने आयोजकले जनाएका छन् । भीर मौरी, कठौरी मौरीलगायत स्थानीय र रैथाने मौरीहरूको मह प्रदर्शनी तथा बिक्री वितरण हुनुका साथै मौरी र महसम्बन्धी विभिन्न अनुसन्धानमूलक जानकारी प्रस्तुत गरिने आयोजकको भनाइ छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।