काठमाडौं महानगरमा पनि लागू हुँदै स्वास्थ्य बीमा, समझदारी पत्रमा हस्ताक्षर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्नका लागि आज काठमाडौं महानगरपालिका र स्वास्थ्य बीमा बोर्ड बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र बोर्डका कार्यकारी निर्देशक डा. मदनकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् ।

स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ र स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन तथा सञ्चालन कार्यविधि, २०७८ ले तोकेका मापदण्डका आधारमा सेवा सञ्चालन हुने सहमति पत्रमा उल्लेख छ ।

‘बीमा गरेको प्रति ५ जना परिवारलाई एउटा एकाइ मानेर एक वर्षमा १ लाख बराबरको निःशुल्क उपचार सेवा प्राप्त हुनेछ । सो बराबरको रकम बीमा बोर्डले महानगरपालिका अन्तर्गत रहेको प्रवर्धन केन्द्रलाई शोध भर्ना गर्नेछ ।’ कार्यक्रम सञ्चालनका बारेमा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले भने ।

महानगरपालिकाले तयार पारेका स्वास्थ्य प्रवर्धन केन्द्रहरू बोर्डमा सूचीकृत हुने उनले बताए । ‘महानगरपालिकाले तयार पारेका स्वास्थ्य प्रवर्धन केन्द्रहरू बोर्डमा सूचीकृत हुनेछन् । त्यसपछि केन्द्रबाट स्वास्थ्य उपचार सेवा प्रदान गरिनेछ । यी केन्द्रमा उपचार नहुने जटिल प्रकारका रोगको उपचारका लागि सूचीकृत अस्पतालहरूमा पठाइनेछ ।’

महानगरपालिकाले सहरी स्वास्थ्य प्रवर्धन केन्द्रहरूको पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन, स्वास्थ्य उपकरणहरूको प्राप्तिको काम गरिरहेको छ । सबै (३२) वडाका लागि बीमा दर्ता सहयोगी छनोट गरिसकेको छ । दर्ता सहयोगीको तालिमपछि बीमित भएको मितिले ३ महिनापछि सेवाग्राहीले सुरु सम्पर्क विन्दू (स्वास्थ्य प्रवर्धन केन्द्र) बाट सेवा सुविधा प्राप्त गर्नेछन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।