जुम्लामा मार्सी धानको खेती घट्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलोमा कालीमार्सी धानको खेती घट्दै गएको छ। कालीमार्सी रोप्दा रोग, किरा लाग्नुका साथै उत्पादन पनि कम हुने भएकाले यहाँका किसानले जौ, गहुँ, मकै, आलु रोप्न थालेपछि मार्सीधानको खेती घट्दै गएको हो।

कालीमार्सी फल्ने  विश्वको उच्च स्थान मानिएको छुमचौर जिउलोमा कतिपय किसानले जौ, गहुँ, मकै, आलु रोपेका छन् भने कतिपयले खेत बाँझै राखेका छन्।

मार्सी धानको खेती गर्दा रोग किरा लाग्ने, पानी प्रशस्त चाहिने र मेहनत बढी लाग्ने तर उत्पादन कम हुने भएकाले किसानले विकल्प खोज्न थालेका पातारासी गाउँपालिका–३ का मुनबहादुर एडीले बताए। 

‘धान खेतीका लागि प्रशस्त पानी तथा सिँचाइ सुविधा खेतमै पुगेको छ। महिनौँदेखि मिहिनेत गरेर रोपिएको धान घर भित्र्याउने समयमा रोग किराको सङ्क्रमण हुने र असिनापानीले झारिदिनाले यहाँका किसान कालीमार्सी रोप्न चासो गर्दैनन्,’ उनले भने।

कालीमार्सीको आफ्नै पहिचान भए पनि पहिचानले मात्र खान लाउन नपुग्ने भन्दै खेती गर्न छोडिएको पातारासी–२ का ६२ वर्षीय गोर्खे बुढाको भनाइ थियो। धान लगाउन गर्ने मेहनत अन्य अन्न बाली लगाउन गरे उत्पादन बढी हुने उनले बताए।

समुद्री सतहदेखि २ हजार ८५० मिटरको उचाइ रहेको छुमचौर जिउलोमा मार्सी धान खेती हुने पातारासी गाउँपालिकाका कृषि शाखा प्रमुख रुपक बुढाले जानकारी दिए। 

उनका अनुसार कालीमार्सी खेती संरक्षण गर्न किसानलाई उत्पादनमूलक क्षमता अभिवृद्धि गर्दै विभिन्न तालिम दिइएको छ। 

‘किसानले उत्पादन गरेको धान बजारीकरण हुन सकेको छैन। केही किसानले खेतमा धानको सट्टा अर्को बाली लगाउँदै आएका छन्,’ प्रमुख बुढाले भने। 

यस वर्षबाट पूरै छुमचौर जिउलोमा धानखेती गर्न कृषकलाई तालिम तथा अन्य आवश्यक सहयोग गरेर प्रोत्साहन गर्ने तयारी गरिएको उनको भनाइ थियो। 

यहाँ धानको उत्पादन कम हुन थालेपछि धानको याममा अधिकांश बालबालिका र युवायुवती यार्सा सङ्कलनका लागि पाटनतिर जाने गरेका छन्। जिउलोमा धान पाक्न ८ महिना लाग्छ। 

एक महिना यार्सा सङ्कलन गर्दा ३ गुणा बढी आम्दानी हुने भएपछि उनीहरु पाटन जाने गरेका स्थाीयको भनाइ छ। यार्साबापत एक परिवारले एक महिनामा न्यूनतम ५० हजारदेखि १ लाखसम्म कमाउँछन्।

एक महिनाको कमाईले वर्षदिनको रोजीरोटी सहजै व्यवस्था हुने भएपछि धान खेती गर्नुभन्दा यार्सा टिप्नु सहज हुने यहाँका किसान बताउँछन्।

कृषि अनुसन्धान केन्द्र जुम्लाले कालीमार्सी निकै पुरानो भएकाले रोग प्रतिरोधी मार्सी धानको अनुसन्धान भइरहेको जनाएको छ। 

जिल्लाका आठवटै स्थानीय तहमा यही जेठको पहिलो सातादेखि खेतमा मार्सी धानको रोपाइँ हुने भए पनि यो याममा जौ खेती गर्ने किसानले बताएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।