काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) र गैरआवासीय नेपाली (एनआरएन) का प्रतिनिधिहरूबीच पूँजी बजारमा गैरआवासीय नेपालीको सहभागिता विस्तार गर्ने विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टसहित बोर्डका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो। छलफलका क्रममा अध्यक्ष भट्टले नेपाल सरकारले बजेट वक्तव्यमार्फत गैरआवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन कानुनी व्यवस्था सुधार गर्ने घोषणा गरेको स्मरण गराउँदै आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीतिमा समेत उक्त कार्यक्रम समावेश गरी आवश्यक प्रक्रिया अघि बढाइने बताए।
उनले विदेशमा रहेका नेपालीले समुन्नत मुलुकबाट आर्जन गरेको सीप, ज्ञान र पूँजीलाई नेपालको पूर्वाधार विकाससँग जोड्ने वातावरण बनाउन बोर्ड आवश्यक सहजीकरण गर्न तयार रहेको धारणा राखे।
छलफलमा सहभागी गैरआवासीय नेपालीका प्रतिनिधिहरूले नेपाल सरकार र धितोपत्र बोर्डको पहलका कारण नेपालको धितोपत्र बजारमा एनआरएनहरूको लगानीका लागि अनुकूल वातावरण बन्दै गएको बताएका थिए।
उनीहरूले नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएको इन्भेष्टमेन्ट कम्पनीमार्फत सार्वजनिक निष्कासन गरेर गैरआवासीय नेपाली तथा विदेशमा रहेका नेपालीलाई साधारण सेयर जारी गरी रकम संकलन गर्ने र त्यसलाई नेपालको भौतिक पूर्वाधार विकासमा लगानी गर्ने योजना रहेको जानकारी दिए।
यस्तै, भविष्यमा परियोजना–विशेषका लागि ऋणपत्र (बन्ड तथा डिबेन्चर) जारी गरेर समेत लगानी जुटाउने योजना रहेको उल्लेख गर्दै आवश्यक कानुनी सुधारका लागि बोर्डसँग सहजीकरणको आग्रह गरिएको थियो।
एनआरएनए डेभलपमेन्ट फन्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले विदेशमा रहेका नेपालीलाई नेपालको पूँजी बजार तथा पूर्वाधार विकाससँग सहज रूपमा जोड्न ‘डायस्पोरा इन्भेस्टमेन्ट म्यानेजमेन्ट सिस्टम’ सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए।
उनका अनुसार उक्त प्रणालीमार्फत विदेशमा रहेका नेपालीले नेपालमा लगानी गर्न आवश्यक सम्पूर्ण प्रक्रिया डिजिटल माध्यमबाट पूरा गर्न सक्नेछन्। बैंक खाता खोल्ने, डिम्याट खाता सञ्चालन गर्ने तथा लगानीबाट प्राप्त नाफा वा पुँजी फिर्ता लैजाने (रिप्याट्रिएसन) प्रक्रियालाई सरल बनाउने लक्ष्यसहित अनबोर्डिङ, स्क्रिनिङ र केवाईसीलगायत सबै सेवा एकै स्थानबाट उपलब्ध गराउने गरी प्रणाली विकास भइरहेको छ।
भट्टराईले गैरआवासीय नेपालीलाई नेपालको स्टक मार्केट तथा सरकारी बन्डमा आकर्षित गर्न फन्डले नेपाल धितोपत्र बोर्डसँग निरन्तर समन्वय गरिरहेको र सोही विषयमा भेटवार्ताका क्रममा विस्तृत छलफल भएको जानकारी दिए।

Comment