काठमाडौं। नेपालमा डिम्याट खाताको संख्या ८० लाख नाघेको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को पछिल्लो तथ्यांकअनुसार हालसम्म ८० लाख ९ हजार ६२३ वटा डिम्याट खाता दर्ता भएका छन्।
यद्यपि, कुल डिम्याट खाताको संख्या ८० लाखभन्दा बढी पुगे पनि सक्रिय खाताको संख्या भने उल्लेख्य रूपमा कम रहेको छ। नेपालमा एउटै व्यक्तिले एकभन्दा बढी डिम्याट खाता खोल्न सक्ने व्यवस्थाका कारण खाताको संख्या वास्तविक लगानीकर्ताभन्दा बढी देखिएको छ। यसका साथै धेरै खाता निष्क्रिय अवस्थामा रहेको तथ्यांकले देखाएको छ।
सीडीएससीका अनुसार हाल सक्रिय ‘मेरो सेयर’ खाताको संख्या ५१ लाख ४८ हजार ८९४ रहेको छ। यस आधारमा करिब २९ लाख डिम्याट खाता निष्क्रिय रहेको अनुमान गरिएको छ।
त्यस्तै, हालसम्म डिम्याट प्रणालीमा रूपान्तरण भएका सेयरको संख्या १८ अर्ब ६० करोड २९ लाख ५८ हजार ७८२ कित्ता पुगेको छ। तर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कुल सेयर संख्या १९ अर्ब २७ करोड ६४ लाख ८८ हजार ६९८ कित्ता रहेको छ।
तथ्यांकअनुसार अझै ६७ करोड ३५ लाख २९ हजार ९१६ कित्ता सेयर डिम्याट प्रणालीमा रूपान्तरण हुन बाँकी रहेको देखिन्छ। ती सेयरमध्ये केही लगानीकर्ताले अझै भौतिक सेयर प्रमाणपत्र सुरक्षित राखेका हुन सक्ने, जबकि केही प्रमाणपत्र हराएका वा नष्ट भएका हुन सक्ने अनुमान गरिएको छ।
पछिल्ला वर्षहरूमा प्राथमिक सेयर (आईपीओ) मा बढ्दो सहभागिता, अनलाइन कारोबार प्रणालीको विस्तार तथा डिजिटल वित्तीय सेवाको पहुँच बढेसँगै डिम्याट र मेरो सेयर खाताको संख्या तीव्र रूपमा वृद्धि हुँदै आएको छ। तथापि, सक्रिय प्रयोगकर्ताको संख्या तुलनात्मक रूपमा कम रहनुले पूँजी बजारमा खाताको दोहोरोपन र निष्क्रिय खाताको चुनौती अझै कायम रहेको संकेत गरेको छ।

Comment