काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्म नेपाली जनता, राजनीतिक दल तथा सम्बन्धित नेतृत्वप्रति उत्तरदायी हुनुपर्ने बताएका छन्।
आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन योजनाका सम्बन्धमा मंगलबार सबै मन्त्रालयका सचिवहरूसँग भएको छलफलमा अर्थमन्त्री वाग्लेले सुशासन, जवाफदेहिता र पारदर्शितालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका हुन्।
छलफलका क्रममा उनले प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीहरूसम्म सबै सार्वजनिक पदाधिकारीहरू नेपाली जनता, आफ्नो राजनीतिक दल तथा सम्बन्धित नेतृत्वप्रति उत्तरदायी रहने व्यवस्था लोकतान्त्रिक शासन प्रणालीको महत्वपूर्ण आधार भएको बताए।
“प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीहरू सबै नेपाली जनता, राजनीतिक दल र सम्बन्धित नेतृत्वप्रति उत्तरदायी हुनुपर्छ,” मन्त्री वाग्लेले भने।
उनले सरकारले भ्रष्टाचार नियन्त्रणमा ‘शून्य सहनशीलता’को नीति अवलम्बन गरेको उल्लेख गर्दै सुशासन प्रवर्द्धनमा कुनै सम्झौता नगर्ने स्पष्ट पारे। “हामी इमानदारी र भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको मान्यतामा दृढ छौँ,” उनले भने।
अर्थमन्त्री वाग्लेले विगतका विकृति र विसंगतिलाई क्रमशः अन्त्य गर्दै प्रशासनिक सुधारलाई अघि बढाइने बताए। साथै, कर्मचारीतन्त्रलाई कार्यसम्पादनका आधारमा प्रोत्साहन गर्ने नीति पनि सरकारले अवलम्बन गर्ने जानकारी दिए।
उनले राज्य सञ्चालनमा जवाफदेहिता, पारदर्शिता र परिणाममुखी कार्यशैली आवश्यक रहेको उल्लेख गर्दै बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन सबै निकायले समन्वयात्मक रूपमा काम गर्नुपर्नेमा जोड दिए।

Comment