रायमाझीलाई चार र खाँडलाई दुई वर्ष कैद‚ अरूलाई कति?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना सुनाएको छ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार उक्त प्रकरणका दोषीहरूलाई सजाय निर्धारण गर्दै रायमाझीलाई ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा दोषी ठहर गरी एकीकृत रूपमा चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो।

अदालतले रायमाझीलाई ठगी कसुरमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तथा राज्यविरुद्धको कसुरमा डेढ वर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना तोकेको छ। सोही कसुरमा थप छ महिना कैदसमेत निर्धारण गरिएको छ।

यसै प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएको छ। अदालतले उनलाई ठगी कसुरमा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तथा संगठित अपराधमा डेढ वर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना सुनाएको छ। राज्यविरुद्धको कसुरमा छ महिना कैद र पाँच हजार रुपैयाँ जरिवानासहित थप तीन महिना कैदसमेत तोकिएको छ।

त्यसैगरी पूर्वसचिव टेकनारायण पाण्डेलाई चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तथा शरणार्थी नेता टेकनाथ रिजाललाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएको छ। दुई वर्षदेखि पुर्पक्षका लागि सुन्धारा कारागारमा रहेका बेचन झालाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना सुनाइएको छ।

काठमाडौं जिल्ला अदालतले यसअघि असार २४ गते उक्त प्रकरणमा फैसला सुनाउँदै टोपबहादुर रायमाझी, बालकृष्ण खाँड, टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, गोविन्दकुमार चौधरी (विक्रम), आङटावा शेर्पा, टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल र बेचन झालाई दोषी ठहर गरेको थियो।

यता रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीले भने अदालतबाट सफाइ पाएका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरण नेपालकै चर्चित भ्रष्टाचार तथा ठगीसम्बन्धी मुद्दामध्ये एक मानिन्छ, जसमा विभिन्न व्यक्तिलाई तेस्रो मुलुक पठाइदिने प्रलोभन देखाएर ठगी गरिएको आरोप रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।