काठमाडौं । नेपाली भाषा, साहित्य र राष्ट्रिय चेतनाका प्रणेता आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती देश तथा विदेशमा विभिन्न कार्यक्रम आयोजना गरी श्रद्धापूर्वक मनाइएको छ।
जन्मजयन्तीका अवसरमा राजधानी काठमाडौंमा प्रभातफेरि, माल्यार्पण तथा साहित्यिक कार्यक्रमहरू आयोजना गरिएका थिए। नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा माल्यार्पण गर्दै साहित्यकार, संस्कृतिकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले उनको योगदानको स्मरण गरेका छन्।
वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तले नेपाली भाषालाई जनसाधारणसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए। संस्कृत भाषामा सीमित रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गरी उनले नेपाली साहित्यलाई नयाँ उचाइ प्रदान गरेका थिए। एक घाँसीले दिएको प्रेरणाबाट प्रभावित भएर समाजका लागि स्मरणीय काम गर्नुपर्ने भावनाले उनलाई साहित्य सिर्जनातर्फ अग्रसर बनाएको जनविश्वास छ।
भानुभक्तले नेपाली भाषा, राष्ट्रिय पहिचान, सांस्कृतिक चेतना र सामाजिक एकतालाई बलियो बनाउन ऐतिहासिक योगदान दिएका छन्। उनका ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ लगायतका कृतिहरू नेपाली साहित्यका महत्वपूर्ण सम्पत्ति मानिन्छन्।
भानु जयन्तीका अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा क्रियाशील विभिन्न संस्थाहरूले साहित्यिक गोष्ठी, कविता वाचन, विचार विमर्श तथा सम्मान कार्यक्रमहरू आयोजना गरेका थिए। भानु प्रतिष्ठान, नेपाली शिक्षा परिषद् तथा अन्य सामाजिक–सांस्कृतिक संघसंस्थाले पनि विशेष कार्यक्रममार्फत आदिकविप्रति सम्मान व्यक्त गरेका छन्।
नेपाली भाषाको विकास र विस्तारमा भानुभक्तको योगदान आज पनि उत्तिकै सान्दर्भिक मानिन्छ। उनको जन्मजयन्तीले नेपाली भाषा, साहित्य र संस्कृतिप्रतिको सम्मान तथा संरक्षणको भावनालाई थप मजबुत बनाएको छ।

Comment