काठमाडौँ । लामो समयदेखि आफ्नो बचत फिर्ताको प्रतीक्षामा रहेका समस्याग्रस्त सहकारीका साना बचतकर्ताका लागि राहतको खबर आएको छ। बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि पाँच वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत रकम फिर्ता गर्न सुरु गरेको छ।
समितिका अनुसार समस्याग्रस्त घोषित सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था तथा लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्तालाई अधिकतम एक लाख रुपैयाँसम्म बचत फिर्ता गरिनेछ।
यस कार्यक्रमको शुभारम्भ बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ललितपुरको जावलाखेलस्थित प्रदेश सुशासन केन्द्रमा आयोजित समारोहबाट गर्ने कार्यक्रम रहेको छ।
समितिले बचतकर्ताको विवरण प्रमाणीकरण (भेरिफिकेसन) प्रक्रिया पूरा गरिसकेको जनाएको छ। यही असार मसान्तभित्र साना बचतकर्ताको रकम फिर्ता गर्ने लक्ष्यका साथ आवश्यक तयारी सम्पन्न भएको समितिका सदस्य रामेश्वर ढकालले जानकारी दिए।
सहकारी संकटका कारण लामो समयदेखि बचत फिर्ता नपाएर समस्यामा परेका हजारौँ बचतकर्ताका लागि यो निर्णय महत्वपूर्ण राहतका रूपमा हेरिएको छ। रकम फिर्ता प्रक्रियाको सुरुवातले सहकारी क्षेत्रमा विश्वास पुनःस्थापित गर्न र प्रभावित बचतकर्ताको आर्थिक समस्यामा केही सहजता ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Comment