जेठसम्म राष्ट्रियस्तरका विकास बैंकको नाफा ६.८८ अर्ब, लुम्बिनीको नाफामा उच्च छलाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिना (साउन–जेठ) मा उल्लेखनीय वित्तीय सुधार गर्दै कुल ६ अर्ब ८८ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सञ्चालनमा रहेका ८ वटा राष्ट्रियस्तरका विकास बैंकले समीक्षा अवधिमा उक्त नाफा कमाएका हुन्। गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा यी बैंकहरूको कुल खुद नाफा ५ अर्ब २२ करोड ७७ लाख रुपैयाँ रहेको थियो। यस आधारमा विकास बैंकहरूको समग्र नाफा ३१.७८ प्रतिशतले वृद्धि भएको देखिएको छ।

नाफा रकमका आधारमा गरिमा विकास बैंक सबैभन्दा अगाडि रहेको छ भने लुम्बिनी विकास बैंकले नाफा वृद्धिदरमा सबैभन्दा ठूलो छलाङ मारेको छ।

गरिमा शीर्ष स्थानमा

गरिमा विकास बैंकले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब १ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको थियो। यससँगै बैंकको नाफा ३३ प्रतिशतले वृद्धि भएको छ।

मुक्तिनाथ दोस्रो, शाइन रेसुङ्गा तेस्रो

मुक्तिनाथ विकास बैंकले १ अर्ब २६ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाउँदै दोस्रो स्थान हासिल गरेको छ। गत वर्षको तुलनामा बैंकको नाफा २०.२३ प्रतिशतले बढेको हो।

त्यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १ अर्ब १ करोड ९४ लाख रुपैयाँ नाफा कमाउँदै तेस्रो स्थानमा रहेको छ। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ३७.९८ प्रतिशतले वृद्धि भएको छ।

ज्योतिको नाफामा झण्डै ८७ प्रतिशतको उछाल

ज्योति विकास बैंकले समीक्षा अवधिमा ८१ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ। यो अघिल्लो वर्षको तुलनामा ८६.९९ प्रतिशतको उल्लेखनीय वृद्धि हो।

यस्तै, कामना सेवा विकास बैंकले ७५ करोड ५९ लाख रुपैयाँ नाफा आर्जन गर्दै १२.९३ प्रतिशत वृद्धि हासिल गरेको छ।

साङ्ग्रिला र महालक्ष्मीमा सामान्य सुधार

साङ्ग्रिला डेभलपमेन्ट बैंकले ६० करोड ६८ लाख रुपैयाँ नाफा कमाउँदै ७.८० प्रतिशत वृद्धि गरेको छ।

त्यसैगरी महालक्ष्मी विकास बैंकले ५४ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा २.२७ प्रतिशतले बढी हो।

लुम्बिनीको वृद्धिदर सबैभन्दा उच्च

नाफा रकमका आधारमा अन्तिम स्थानमा रहेको लुम्बिनी विकास बैंकले भने वृद्धिदरमा सबैलाई पछि पारेको छ। बैंकले जेठ मसान्तसम्म ५२ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा १४२.७१ प्रतिशतले बढी हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।