काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले धान खेतीका लागि आवश्यक रासायनिक मलको आपूर्ति सहज बनाउन आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन मल नेपाल भित्र्याउने तयारी गरेको छ ।
किसानलाई समयमै मल उपलब्ध गराउने उद्देश्यले सरकारले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको मन्त्रालयले जनाएको छ ।
सरकार–सरकार (जीटूजी) सम्झौताअन्तर्गत भारतबाट ३० हजार मेट्रिक टन युरिया मल नेपाल ल्याइँदैछ । उक्त मल असार अन्तिमदेखि साउनको दोस्रो सातासम्म नेपाल आइपुग्ने अपेक्षा गरिएको छ ।
भारतसँग भएको ८० हजार मेट्रिक टन मल खरिद सम्झौताअनुसार पहिलो चरणमा ५० हजार मेट्रिक टन मल साउन दोस्रो सातासम्म नेपाल भित्रिने मन्त्रालयले जनाएको छ ।
त्यस्तै, ग्लोबल टेन्डरमार्फत १ लाख ८० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अघि बढाइएको छ । यसमध्ये ६० हजार मेट्रिक टन डीएपी र १ लाख २० हजार मेट्रिक टन युरिया मल रहेको छ । उक्त मल साउन पहिलो सातासम्म नेपाल ल्याउने लक्ष्य राखिएको छ ।
मन्त्रालयका अनुसार ओमनबाट ल्याइँदै गरेको ३० हजार मेट्रिक टन युरिया मल असार अन्तिमसम्म कलकत्ता आइपुग्ने र साउनको दोस्रो सातामा नेपाल भित्रिनेछ ।
त्यसैगरी, ३० हजार मेट्रिक टन डीएपी मल होर्मुज पार गरी भिसाखापटनम पोर्टमा पुगेको छ । उक्त मल असार १९ देखि २० गतेसम्म नेपाल आइपुग्ने साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले जनाएको छ ।
यस्तै, ३० हजार मेट्रिक टन युरिया मल जहाजमा लोड भइसकेको र साउन पहिलो सातामा कलकत्ता बन्दरगाह हुँदै साउन अन्तिमसम्म नेपाल आइपुग्ने बताइएको छ ।
कतार र साउदी अरेबियाबाट गरी ६० हजार मेट्रिक टन युरिया मल ल्याउने प्रक्रिया अघि बढेको छ । दुवै देशबाट मल लोड भइसकेको र असार अन्तिम सातासम्म कलकत्ता आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।
भियतनामबाट ३० हजार मेट्रिक टन डीएपी मल पनि लोड भइसकेको छ । उक्त मल असार अन्तिम सातासम्म कलकत्ता आइपुग्ने र साउन दोस्रो सातामा नेपाल भित्रिने मन्त्रालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मध्यपूर्वमा जारी द्वन्द्वका कारण मलको उपलब्धतामा असर परे पनि किसानलाई राहत हुने गरी आपूर्ति व्यवस्था मिलाउन सरकार सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले चालु आर्थिक वर्षमा करिब ६ लाख मेट्रिक टन रासायनिक मल किसानलाई अनुदानमा उपलब्ध गराउने लक्ष्य राखेको छ । विगतका वर्षको तुलनामा यस वर्ष सबैभन्दा बढी मल आयात गर्ने तयारी गरिएको मन्त्रालयको भनाइ छ ।
मल वितरण प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन स्थानीय तह तथा सम्बन्धित निकायले अनलाइन प्रणालीमा आवश्यक विवरण अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्ने निर्देशन पनि मन्त्रालयले दिएको छ ।
मल वितरणमा कालोबजारी वा अनियमितता भएको पाइएमा मन्त्रालयले बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म हटलाइन नम्बर ९७०००९९११३ तथा क्यूआर कोडमार्फत गुनासो दर्ता गर्ने व्यवस्था गरेको जनाएको छ ।

Comment