अब पेट्रोलियम पदार्थको मूल्य घट्छ: अर्थमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मध्यपूर्वमा देखिएको तनाव क्रमशः सहज बन्दै गएको भन्दै डिजेल, पेट्रोल र मट्टीतेललगायत पेट्रोलियम पदार्थको मूल्य अब घट्ने अवस्थामा रहेको बताएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रुड आयल) को मूल्य घटिसकेको उल्लेख गर्दै नेपालमा पनि केही समयपछि त्यसको प्रभाव देखिने बताए।

उनका अनुसार नेपालले भारतीय आयल निगममार्फत पेट्रोलियम पदार्थ आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि त्यसको प्रभाव नेपालमा देखिन केही समय लाग्नेछ। उनले अहिले ‘टाइम ल्याग’ का कारण तत्काल मूल्य घटाउन नसकिएको स्पष्ट पारे।

अर्थमन्त्री वाग्लेले आफू पदभार सम्हालेको दुई साताभित्रै उपभोक्तामाथि परेको भार कम गर्न डिजेल, पेट्रोल र मट्टीतेलको पैठारीमा लाग्ने भन्सार महसुल तथा डिजेल–पेट्रोलमा लाग्ने पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिएको पनि जानकारी दिए।

उनले भने, “मध्यपूर्वको द्वन्द्वका कारण इन्धनको मूल्य बढ्दा उपभोक्तामाथि भार परेको थियो। त्यसलाई कम गर्न सरकारले तत्काल करमा सहुलियत दिएको हो। अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटिसकेको छ। भारतीय आयल निगममार्फत आयात हुने प्रक्रियाका कारण केही समय लागे पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य घट्ने अवस्था बनेको छ।”

अर्थमन्त्री वाग्लेले सरकारले उपभोक्तालाई राहत दिने उद्देश्यका साथ पेट्रोलियम पदार्थको मूल्य घटाउन आवश्यक पहल निरन्तर गरिरहेको पनि बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।