काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको वैदेशिक व्यापारमा उल्लेख्य वृद्धि भए पनि आयातको तुलनामा निर्यात कमजोर रहँदा व्यापार घाटा थप फराकिलो बनेको छ। भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि जेठसम्म नेपालको व्यापार घाटा १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.६७ प्रतिशतले बढी हो।
गत आर्थिक वर्षको यही अवधिमा नेपालको व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२ करोड रुपैयाँ रहेको थियो। आयातको तीव्र वृद्धि र निर्यातको तुलनात्मक रूपमा कमजोर विस्तारका कारण व्यापार असन्तुलन बढ्दै गएको देखिएको छ।
विभागका अनुसार समीक्षा अवधिमा नेपालले १८ खर्ब ९४ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँ को तुलनामा १५.१६ प्रतिशतले बढी हो।
यता, निर्यात व्यापारमा पनि सुधार देखिएको छ। चालु आर्थिक वर्षको ११ महिनामा २ खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ, जुन अघिल्लो वर्षको २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ को तुलनामा १२.२८ प्रतिशतले बढी हो।
तर निर्यात वृद्धि भए पनि कुल वैदेशिक व्यापारमा यसको हिस्सा घटेको छ। गत वर्ष कुल व्यापारमा निर्यातको हिस्सा १३.०८ प्रतिशत रहेकोमा यस वर्ष १२.८० प्रतिशत मा झरेको छ। विपरीत रूपमा आयातको हिस्सा ८६.९२ प्रतिशतबाट बढेर ८७.२० प्रतिशत पुगेको छ।
तथ्यांकअनुसार नेपालको कुल वैदेशिक व्यापार २१ खर्ब ७२ अर्ब ६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कुल व्यापार १८ खर्ब ९२ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो। यस आधारमा कुल वैदेशिक व्यापार १४.७८ प्रतिशतले वृद्धि भएको देखिन्छ।
व्यापार घाटा बढेसँगै आयात–निर्यात अनुपात पनि थप असन्तुलित बनेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा आयात–निर्यात अनुपात ६.८१ पुगेको छ। अघिल्लो वर्ष यही अनुपात ६.६४ थियो। यसको अर्थ नेपालले १ रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा ६ रुपैयाँ ८१ पैसा बराबरको वस्तु आयात गरिरहेको छ।

Comment