काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा नेपालको वैदेशिक व्यापारमा ठूलो असन्तुलन देखिएको छ।
भन्सार विभागको तथ्यांकअनुसार नेपालले १२३ मुलुकसँग व्यापार घाटा व्यहोरेको छ भने केवल ३४ मुलुकसँग मात्र व्यापार नाफा गरेको छ। अधिकांश देशसँग व्यापार घाटा रहँदा कुल व्यापार घाटा १४ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा नेपालको कुल निर्यात २ खर्ब ४८ अर्ब रुपैयाँमा सीमित रहँदा आयात भने अत्यधिक रहेको देखिएको छ।
तथ्यांकअनुसार नेपालले सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग व्यहोरेको छ। १० महिनाको अवधिमा भारतबाट ९ खर्ब ७४ अर्ब २९ करोड ७७ लाख रुपैयाँ बराबरका वस्तु तथा सामान आयात गरिएको छ भने नेपालबाट २ खर्ब ४ अर्ब ३७ करोड ७ लाख रुपैयाँको मात्र निर्यात भएको छ। यसरी भारतसँग नेपालको व्यापार घाटा ७ खर्ब ६९ अर्ब ९२ करोड ७० लाख रुपैयाँ पुगेको छ। त्यसपछि चीनसँग ३ खर्ब ३५ अर्ब १ करोड ५५ लाख रुपैयाँको व्यापार घाटा रहेको छ। चीनबाट ३ खर्ब ३६ अर्ब ४० करोड ९१ लाख रुपैयाँको आयात हुँदा नेपालबाट केवल १ अर्ब ३९ करोड ३६ लाख रुपैयाँको निर्यात भएको छ।
अर्जेन्टिनासँग नेपालको व्यापार घाटा ९५ अर्ब २७ करोड ३४ लाख रुपैयाँ पुगेको छ। अर्जेन्टिनाबाट ९५ अर्ब २७ करोड ७० लाख रुपैयाँको वस्तु आयात गर्दा नेपालले केवल ३६ लाख रुपैयाँको मात्र निर्यात गरेको छ। त्यसैगरी, संयुक्त अरब इमिरेट्स (यूएई) सँग ४८ अर्ब १७ करोड १३ लाख रुपैयाँ, इन्डोनेसियासँग १९ अर्ब ६ करोड १८ लाख रुपैयाँ, थाइल्याण्डसँग १४ अर्ब ९५ करोड ३९ लाख रुपैयाँ तथा ब्राजिलसँग १३ अर्ब ९५ करोड १ लाख रुपैयाँको व्यापार घाटा रहेको विभागको तथ्यांकमा उल्लेख छ।
व्यापार नाफा भएका मुलुकमध्ये डेनमार्क अग्रस्थानमा रहेको छ। डेनमार्कबाट १६ करोड ७८ लाख रुपैयाँको वस्तु आयात हुँदा नेपालले ८२ करोड १० लाख रुपैयाँ बराबरको निर्यात गरेको छ, जसबाट ६५ करोड ३२ लाख रुपैयाँको व्यापार नाफा भएको छ। त्यस्तै, नर्वेसँग ५ करोड ९० लाख रुपैयाँ, रोमानियासँग ४ करोड ६८ लाख रुपैयाँ, अमेरिकी सामोआसँग २ करोड ७८ लाख रुपैयाँ, आइसल्याण्डसँग २ करोड ४६ लाख रुपैयाँ, नाइजरसँग १ करोड ७३ लाख रुपैयाँ तथा इराकसँग १ करोड ५६ लाख रुपैयाँको व्यापार नाफा भएको छ। यद्यपि, अधिकांश नाफा भएका देशसँगको व्यापारको आकार निकै सानो रहेको छ।
भन्सार विभागका अनुसार २७ मुलुकबाट नेपालले आयात मात्र गरेको छ भने ती देशमा कुनै पनि वस्तु निर्यात हुन सकेको छैन। यस्ता देशमध्ये माल्दोभाबाट सबैभन्दा बढी १ अर्ब २९ करोड ३७ लाख रुपैयाँ बराबरको सामान आयात भएको छ। सुडान, रवान्डा, मेडागास्कर, आइभरी कोस्ट र बेलारुसलगायतका देशबाट पनि आयात मात्रै भएको छ। अर्कोतर्फ, फिजी, क्यामन आइल्यान्ड, बहामास, सिरिया, पानामा, अङ्गोला र सोमालियामा नेपालबाट निर्यात मात्र भएको छ भने आयात नभएकाले ती देशसँग व्यापार नाफा देखिएको छ।
निर्याततर्फ सबैभन्दा बढी सोयाबिन तेल निर्यात भएको छ। समीक्षा अवधिमा १ खर्ब १ अर्ब २६ करोड रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात गरिएको छ। त्यसपछि अलैंची ११ अर्ब ४२ करोड रुपैयाँ, कार्पेट ८ अर्ब ४८ करोड रुपैयाँ तथा कच्चा सूर्यमुखी तेल ७ अर्ब ४१ करोड रुपैयाँ बराबर निर्यात भएको छ। तथ्यांकले नेपालबाट निर्यात हुने अधिकांश सोयाबिन तेल तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरी प्रशोधनपछि भारत निर्यात गर्ने गरिएको देखाएको छ।
आयाततर्फ भने डिजेल सबैभन्दा धेरै आयात हुने वस्तु बनेको छ। १० महिनाको अवधिमा १ खर्ब ३० अर्ब ९३ करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ। त्यस्तै, ५८ अर्ब ६३ करोड रुपैयाँको पेट्रोल, ४६ अर्ब १३ करोड रुपैयाँको खाना पकाउने ग्यास र ३९ अर्ब ३९ करोड रुपैयाँको स्मार्टफोन आयात भएको छ। निर्यातको तुलनामा आयात अत्यधिक उच्च रहँदा नेपालको व्यापार घाटा अझै गहिरिँदै गएको देखिएको छ।

Comment