काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रक्षेपित कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २८ प्रतिशत बराबरको मात्रै बजेट ल्याएको बताएका छन्।
आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री वाग्लेले बजारमा अपेक्षा गरिएभन्दा सन्तुलित आकारको बजेट प्रस्तुत गरिएको बताएका हुन्।
‘बजारमा २५ खर्ब रुपैयाँको बजेट आउने चर्चा भइरहेको थियो, तर हामीले २१ खर्ब २४ अर्ब रुपैयाँको मात्रै बजेट ल्याएका छौं,’ उनले भने।
उनका अनुसार सरकारले आगामी आर्थिक वर्षका लागि कुल जीडीपी ७४ खर्ब ५८ अर्ब रुपैयाँ प्रक्षेपण गरेको छ। सोही आधारमा बजेटको आकार निर्धारण गरिएको उनले जानकारी दिए।
अर्थमन्त्री वाग्लेले सरकारले ऋण व्यवस्थापनमा पनि सतर्कता अपनाएको उल्लेख गर्दै जीडीपीको ५ प्रतिशत सीमाभित्र रहने गरी मात्रै ऋण लिने नीति कायम गरिएको बताए।
उनले बजेटले आर्थिक अनुशासन कायम गर्दै विकास, उत्पादन वृद्धि र निजी क्षेत्रको मनोबल उकास्ने लक्ष्य राखेको पनि बताए।

Comment