रातो नम्बर प्लेट भएका मोटरसाइकलले राइड सेयरिङ गर्न नपाउने, प्रत्येक कारोबारमा ५ प्रतिशत कर थपियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अब रातो नम्बर प्लेट भएका मोटरसाइकल तथा स्कुटर प्रयोग गरेर राइड सेयरिङ सेवा सञ्चालन गर्न नपाइने भएको छ । काठमाडौं महानगरपालिकाले ल्याएको आर्थिक विधेयक २०८३ मार्फत यस्तो व्यवस्था प्रस्ताव गरिएको हो ।

नयाँ व्यवस्थाअनुसार राइड सेयरिङमा प्रयोग हुने दुईपाङ्ग्रे सवारी साधनलाई भाडाका सवारी साधनका रूपमा दर्ता गर्नुपर्नेछ । यसरी दर्ता भएका सवारीलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार कालो नम्बर प्लेट प्रदान गरिने व्यवस्था गरिएको छ ।

हालसम्म निजी प्रयोजनका लागि दर्ता भएका रातो नम्बर प्लेटका मोटरसाइकलमार्फत राइड सेयरिङ सेवा सञ्चालन हुँदै आएको थियो । तर अब व्यवसायिक प्रयोजनका लागि प्रयोग हुने सवारीले अनिवार्य रूपमा भाडाका सवारीको मान्यता लिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको हो ।

विधेयकमा मूल्य अभिवृद्धि कर (भ्याट) ऐन २०५८ को दफा ७ मा नयाँ व्यवस्था थप गर्दै सरकारले राइड सेयरिङ सेवामा कर प्रणालीसमेत लागू गरेको छ । प्रस्तावित व्यवस्थाअनुसार राइड सेयरिङ प्लेटफर्ममार्फत प्रदान गरिने यातायात तथा ढुवानी सेवामा ५ प्रतिशत कर लाग्नेछ ।

विधेयकमा उल्लेख भएअनुसार, राइड सेयरिङ सेवा सञ्चालन गर्ने कम्पनी वा प्लेटफर्मसँग आबद्ध भई सेवा दिने व्यक्तिले कारोबार गर्दा उक्त कर असुल गर्नुपर्नेछ । साथै, यसमा १ प्रतिशत अग्रिम आयकरसमेत जोडिने भएकाले सेवा शुल्कमा कुल ६ प्रतिशत अतिरिक्त भार पर्नेछ ।

विधेयकमा भनिएको छ, ‘उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी करको दरमा नबढ्ने गरी बहुदर कायम गर्न र सो बमोजिम कर लाग्ने वस्तु तथा सेवा तोक्न सक्नेछ ।’

त्यस्तै, अर्को व्यवस्थामा राइड सेयरिङ सेवा सञ्चालन गर्ने व्यक्तिबाट सञ्चालित प्लेटफर्ममार्फत यातायात तथा ढुवानी सेवा प्रदान गर्ने व्यक्तिलाई करको दायरामा ल्याउने उल्लेख गरिएको छ ।

सरकारको यो कदमसँगै अब राइड सेयरिङ क्षेत्र थप व्यवस्थित, नियमनयुक्त तथा करको दायराभित्र आउने अपेक्षा गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।