काठमाडौं । सरकारको लगानी रहेका सार्वजनिक संस्थानहरूको वित्तीय अवस्थामा केही सुधार देखिए पनि चुनौतीहरू अझै कायम रहेका छन्। हाल सञ्चालनमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये गत आर्थिक वर्ष २०८१/८२ मा २७ वटा नाफामा रहेका छन् भने १६ वटा संस्थान घाटामा सञ्चालन भइरहेका छन्। बाँकी २ वटा संस्थान बन्द अवस्थामा रहेका छन्। अघिल्लो आर्थिक वर्षमा नाफामा रहने संस्थानको संख्या २८ रहेको थियो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार प्रतिनिधिसभामा पेश गरेको सार्वजनिक संस्थानको वार्षिक प्रतिवेदन अनुसार सार्वजनिक संस्थानहरूमा नेपाल सरकारको कुल लगानी ७ खर्ब ९८ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। कुल लगानीमध्ये ३ खर्ब ७० अर्ब २५ करोड रुपैयाँ सेयर लगानी तथा ४ खर्ब २८ अर्ब ३१ करोड रुपैयाँ ऋण लगानी रहेको उल्लेख गरिएको छ।
प्रतिवेदनले सार्वजनिक संस्थानहरूको सञ्चालन तथा व्यवस्थापनमा सुधारका प्रयास भइरहे पनि धेरै संस्थान अझै वित्तीय दबाबमा रहेको संकेत गरेको छ। विशेषगरी घाटामा रहेका संस्थानहरूको कार्यसम्पादन, प्रशासनिक खर्च र दायित्व व्यवस्थापन सरकारका लागि चुनौतीपूर्ण बनेको छ।
यसैबीच सार्वजनिक ऋणको भार पनि निरन्तर बढ्दै गएको देखिएको छ। चालु आर्थिक वर्ष २०८२ को फागुनसम्म नेपालको कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। यो रकम कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४३.६ प्रतिशत बराबर रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
सरकारले बढ्दो सार्वजनिक ऋणलाई दीर्घकालीन आर्थिक स्थायित्वसँग जोडेर हेर्नुपर्ने आवश्यकता औंल्याउँदै उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार, राजस्व परिचालन सुधार तथा सार्वजनिक खर्च व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ।

Comment