सदनमा प्रधानमन्त्री खोज्दै विपक्षी‚ बैठक अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा आकस्मिक, शून्य र विशेष समय सकिएपछि सभामुख डोलप्रसाद अर्यालले कार्यसूचीमा रहेका विषय अगाडि बढाउन लाग्दा विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए।

विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि सभामुख अर्यालले कांग्रेस प्रमुख सचेतक बासना थापालाई बोल्न समय दिएका थिए। कांग्रेस प्रमुख सचेतक थापाले सरकारले दुईतिहाइको दम्भ देखाएको बताइन्। उनले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा प्रतिपक्षको माग र जनचासोका विषयलाई बेवास्ता गर्दै सञ्चालन गर्नु संसदीय मर्यादाको अभ्यास नभएको उल्लेख गरिन्।

त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले संवैधानिक व्यवस्था, कानुनी व्यवस्थाअनुसार पनि प्रधानमन्त्री सदनमा उपस्थित हुनुपर्ने भन्दै प्रधानमन्त्री नआए सदनको अवरोध नहट्ने बताए। उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई खोपीको देउता बनाएको हो? भन्दै प्रश्नसमेत गरे।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीले जनताका प्रश्नको जवाफ दिनुपर्ने बताए। उनले संख्याको दम्भ नराख्न सरकारलाई सुझाए।

त्यस्तै अन्य विपक्षी दलका सांसदहरूले पनि प्रधानमन्त्रीको उपस्थितिका लागि रुलिङको माग गरेका थिए। विरोधपछि बैठकमा सभामुख अर्यालले विपक्षी दलले राखेका माग जायज भएको भन्दै आफू पनि निरन्तर छलफलमा रहेको बताए। उनले छिटै प्रधानमन्त्रीको उपस्थिति सदनमा हुने भएकाले सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए।

विपक्षी दलका सांसदहरूले निरन्तर विरोध जनाएपछि सभामुख अर्यालले विरोधकाबीच कार्यसूचीमा रहेका कार्यक्रमलाई अघि बढाएका थिए। विपक्षी दलका सांसदहरूले उठेर नाराबाजी गरेका थिए।

पर्यटन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमा छलफल जारी रहँदासमेत विरोध जारी रहेपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।