काठमाडौं । नेपाल बार एशोसिएशन का अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्र ले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा पेसी प्रणाली हटाउने तयारीप्रति कडा आपत्ति जनाएका छन्।
काठमाडौँमा आयोजित ‘मानसिक सु–स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष मिश्रले गोलाप्रथा प्रणाली हटाएर प्रधानन्यायाधीश स्वयंले पेसी तोक्ने व्यवस्था ल्याउन खोजिएको भन्दै त्यसले न्यायपालिकालाई राजनीतिक प्रभावतर्फ धकेल्ने चेतावनी दिए।
उनले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा प्रणाली हटाइए सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिए।
प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामाथि समेत प्रश्न उठाउँदै उनले संवैधानिक परिषद्मार्फत प्रधानमन्त्रीलाई मनपर्ने व्यक्तिलाई नियुक्त गर्ने अभ्यास सुरु भएको टिप्पणी गरे। “प्रधानमन्त्रीलाई मन पर्ने व्यक्तित्व भयो भने प्रधानन्यायाधीश हुन पाउने प्रवृत्ति विकास भएको हो कि भन्ने देखिएको छ,” उनले भने।
मिश्रले सरकारको आलोचना गर्ने व्यक्तिलाई ‘झोले’ को आरोप लगाएर हजारौँ मानिस परिचालन गर्ने प्रवृत्ति बढेको दाबी गरे। उनले वर्तमान अवस्थामा न्यायपालिकाले गम्भीर परिस्थिति सामना गरिरहेको उल्लेख गर्दै कानुन व्यवसायीहरूले विवेक गुमाउन नहुने बताए।
उनका अनुसार न्यायालय र न्यायाधीशलाई बलियो बनाउने दायित्व कानुन व्यवसायीहरूको पनि हो। उनले वकिलहरूले न्यायपालिकाको स्वतन्त्रता र सुदृढीकरणका लागि सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए।





Comment