काठमाडौं । प्रतिनिधिसभामा आज जेठ ४ गतेदेखि आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल सुरु हुने भएको छ।
आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।
सभामुख डोलप्रसाद अर्याल ले उक्त विषयमा छलफलका लागि जेठ ४, ५ र ६ गतेका दिन तोकेका छन्। आगामी बजेट निर्माणअघि गरिने यस छलफललाई प्रि-बजेट छलफलका रूपमा लिइन्छ।
अर्थमन्त्री वाग्लेले गत बिहीबार संसदमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता पेश गरेका थिए। उनले आगामी बजेटका लागि ५ सिद्धान्त र ५ प्राथमिकता प्रस्तुत गरेका छन्।


Comment