काठमाडौं । नेपाल राष्ट्र बैंक ले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै चालु वर्षको सुरुदेखि अवलम्बन गरिएको लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको जनाएको छ।
राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति र मुद्रास्फीति लक्ष्यअनुरूप नै रहने प्रक्षेपण गर्दै हालको न्यून आर्थिक वृद्धिलाई ध्यानमा राखेर मौद्रिक नीतिको कार्यदिशा यथावत् राखिएको उल्लेख गरेको छ।
समीक्षाअनुसार विद्यमान नीतिगत दरहरूमा कुनै परिवर्तन गरिएको छैन। ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात (सीआरआर) तथा वैधानिक तरलता अनुपात (एसएलआर) सम्बन्धी व्यवस्थाहरू यथावत् कायम राखिएको छ। यद्यपि, ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइने स्थायी निक्षेप सुविधाको व्यवस्था पुनरावलोकन गरिने जनाइएको छ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा औसत उपभोक्ता मुद्रास्फीति २.३९ प्रतिशत कायम भएको छ, जुन ५ प्रतिशतभित्र सीमित राख्ने लक्ष्यअनुसार नै रहेको छ। यद्यपि, २०८२ चैतमा वार्षिक बिन्दुगत मुद्रास्फीति ४.४७ प्रतिशत पुगेको उल्लेख गरिएको छ।
त्यसैगरी, राष्ट्रिय तथ्याङ्क कार्यालय को प्रारम्भिक अनुमान उद्धृत गर्दै चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशत, उद्योग क्षेत्रको १.६७ प्रतिशत तथा सेवा क्षेत्रको वृद्धिदर ४.२१ प्रतिशत रहने अनुमान गरिएको छ।
समीक्षाले अर्थतन्त्रको बाह्य क्षेत्र सन्तोषजनक अवस्थामा रहेको देखाएको छ। चालु आर्थिक वर्षको नौ महिनामा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १६ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। विप्रेषणमा भएको उच्च वृद्धिसँगै चालु खाता ६ खर्ब १८ अर्ब ६८ करोड रुपैयाँ र शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्ब १६ करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस अवधिमा विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च ३४ खर्ब ९४ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। उक्त सञ्चितिले १८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकको भनाइ छ।
त्यस्तै, कुल वस्तु निर्यात १८.५ प्रतिशत र आयात १३.८ प्रतिशतले वृद्धि हुँदा व्यापार घाटा १३ प्रतिशतले बढेर १२ खर्ब ६७ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ।
राष्ट्र बैंकले वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको तथा ब्याजदर घट्दो क्रममा रहेको जनाएको छ। २०८२ चैतसम्म वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.४० प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.७७ प्रतिशत कायम भएको छ। समीक्षा अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशतले वृद्धि भएको जनाइएको छ।
समीक्षामा अत्यधिक तरलताको दीर्घकालीन प्रभावप्रति केन्द्रीय बैंक सजग रहेको उल्लेख गर्दै समष्टिगत आर्थिक परिसूचकमा पर्न सक्ने असर व्यवस्थापन गर्न आवश्यक कदम चालिने संकेत गरिएको छ।

Comment