रोकिएन ब्याजदर घट्न, जेठका लागि पनि घटाए बैंकहरूले निक्षेपको ब्याजदर

all bank logo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूमा कर्जाको तुलनामा निक्षेप वृद्धि उच्च रहँदा अधिक तरलताको चाप बढेको भन्दै बैंकहरूले लागत घटाउन निरन्तर ब्याजदर घटाइरहेका हुन् ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत निक्षेप संकलन दर २.७५ प्रतिशत कायम गरेको छ । सोही दरभन्दा कम ब्याजदर भएका बैंकहरूले स्थायी निक्षेप सुविधा नपाउने व्यवस्था रहेकाले बैंकहरूले बचत खाताको ब्याजदर घटाउन नसकेका हुन् । त्यसैले लागत घटाउन मुद्दती निक्षेपको ब्याजदर घटाउने रणनीति बैंकहरूले अपनाएका छन् ।

वैशाख महिनामा २० वाणिज्य बैंकमध्ये अधिकांश बैंकको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको थियो । जेठका लागि पनि औसत ब्याजदर घटेको छ । वैशाखमा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४.३९ प्रतिशत रहेकोमा जेठमा घटेर ४.३४ प्रतिशतमा पुगेको छ ।

२० वाणिज्य बैंकमध्ये सिद्धार्थ बैंकले मात्रै व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर सामान्य बढाएको छ । बैंकले वैशाखमा ४ प्रतिशत रहेको ब्याजदर जेठका लागि ०.०५ प्रतिशत बिन्दुले बढाएर ४.०५ प्रतिशत पुर्‍याएको हो ।

यता एनएमबि बैंकले भने वैशाखमा रहेको ५ प्रतिशत ब्याजदर घटाएर जेठका लागि ४.८ प्रतिशत कायम गरेको छ । यद्यपि, जेठ महिनामा पनि व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याजदर दिने बैंक एनएमबि नै बनेको छ । राष्ट्रिय वाणिज्य बैंकले भने वैशाखकै ४.७५ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएको छ ।

वैशाखको तुलनामा जेठमा ब्याजदर घटाउने बैंकहरूमा एनएमबि, एनआईसी एशिया, हिमालयन, कुमारी, सिटिजन्स र स्ट्यान्डर्ड चार्टर्ड रहेका छन् ।

त्यस्तै राष्ट्रिय वाणिज्य, प्रभु, नबिल, ग्लोबल आईएमई, माछापुच्छ्रे, सानिमा, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, नेपाल बैंक, नेपाल एसबीआई, प्राइम कमर्सियल, कृषि विकास र एभरेष्ट बैंकले ब्याजदर यथावत राखेका छन् ।

जेठ महिनाका लागि सबैभन्दा कम ब्याजदर कुमारी बैंकले प्रस्ताव गरेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ३.९६ प्रतिशत ब्याजदर कायम गरेको हो । वैशाखमा उक्त दर ४.०५ प्रतिशत थियो ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४.१ प्रतिशतबाट घटाएर ४ प्रतिशत कायम गर्दा सिटिजन्स बैंकले ४.१५ प्रतिशतबाट ४.१० प्रतिशतमा झारेको छ । हिमालयन बैंकले ४.५ प्रतिशतबाट ४.२५ प्रतिशतमा झारेको छ भने एनआईसी एशिया बैंकले ४.७५ प्रतिशतबाट ४.५ प्रतिशतमा ल्याएको छ ।

बैंकहरूमा निक्षेप निरन्तर बढिरहे पनि सोही अनुपातमा कर्जा प्रवाह हुन नसक्दा राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि निरन्तर बजारबाट पैसा खिचिरहेको छ । हाल बैंकहरूले १० खर्ब रुपैयाँभन्दा बढी तरलता नेपाल राष्ट्र बैंकमा पार्क गरेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।