५० मेगावाटको मर्स्याङ्दी बेसी हाइड्रोमा साढे ७ अर्ब लगानी जुट्यो, सिटिजन्स बैंकको लिड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनामा लगानी जुटेको छ । सिटिजन्स बैंकको नेतृत्वको सहवित्तीयकरणमा साढे ७ अर्ब लगानी जुटेको हो । कन्सोटियमका अन्य सदस्यहरू प्रभु र एनआईसी एशिया बैंक रहेका छन् ।

नेपालको जलविद्युत क्षेत्रमा लगानी प्रवर्द्धन गर्दै ऊर्जा आत्मनिर्भरतामा टेवा पुऱ्याउने उद्देश्यका साथ आयोजनाको वित्तीय व्यवस्थापन कार्य सम्पन्न भएको सिटिजन्स बैंकले जनाएको छ ।

बुधबार राजधानीमा आयोजित एक विशेष कार्यक्रमका बीच आयोजनाको प्रवर्द्धक कम्पनी दिब्यज्योती हाइड्रोपावर र ऋण लगानी गर्ने सहवित्तीयकरण बैंकहरुबीच कर्जा सम्झौतामा हस्ताक्षर भएको छ ।

गण्डकी प्रदेशको लमजुङ जिल्लास्थित मर्स्याङ्दी गाउँपालिका र बेसीशहर नगरपालिकालाई कार्यक्षेत्र बनाएर निर्माण हुने यस आयोजनाको कुल लागत करिब ११ अर्ब ३० करोड रुपैयाँ अनुमान गरिएको छ । आयोजनामा ऋण र स्वपुँजीको अनुपात ६७:३३ कायम गरिएको छ । जसअनुसार, सिटिजन्स बैंकको अगुवाईमा रहेका बैंकहरुले ७ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्नेछन् भने बाँकी ३३ प्रतिशत रकम (करिब ३ अर्ब ८० करोड रुपैयाँ) प्रवद्र्धकहरुले स्वपुँजी का रुपमा परिचालन गर्नेछन् ।

कम्पनीका अनुसार यो आयोजना आगामी चार वर्षभित्र सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य राखिएको छ । उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको लमजुङस्थित उदीपुर सबस्टेशनमार्फत वितरण गरिनेछ । आयोजनाबाट वार्षिक कुल ३१२.६०२ गिगावाट घन्टा ऊर्जा उत्पादन हुनेछ, जसमा हिउँदयाममा ११२.०९९ गिगावाट घन्टा र बर्षायाममा २००.५०३ गिगावाट घन्टा योगदान रहनेछ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बैंकले स्थापनाकालदेखि नै हरित ऊर्जालाई प्राथमिकतामा राखेर लगानी गर्दै आएको स्मरण गराए । ‘निजी क्षेत्र र बैंकिङ क्षेत्रको सहकार्यले नै देशको ऊर्जा क्षेत्रमा ठूलो क्रान्ति सम्भव भएको हो,’ उनले भने, ‘सिटिजन्स बैंकले एकल र सहवित्तीयकरणमार्फत साना–ठूला धेरै आयोजनालाई सफल बनाएको छ र यो ५० मेगावाटको आयोजना हाम्रो लगानीको अर्को एउटा महत्वपूर्ण कोशेढुङ्गा हुनेछ ।’

बैंकले हालसम्म देशभर कुल १,६०५.२२६ मेगावाट क्षमताका ४२ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ । यसमध्ये १६ वटा आयोजना (२७४.४०१ मेगावाट) निर्माण सम्पन्न भइसकेका छन् भने २६ वटा आयोजना (१,३३०.८२५ मेगावाट) निर्माणाधीन अवस्थामा रहेका छन् । बैंकले १८ वटा आयोजनामा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ ।

सिटिजन्स बैंकले नेपालका ६ वटै प्रदेशमा जलविद्युत आयोजनाहरुमा लगानी फैलाएको छ । जसअनुसार गण्डकी प्रदेशमा सर्वाधिक ६१६.४६५ मेगावाट (९ आयोजना), कोशीमा ५२१.६६६ मेगावाट (१४ आयोजना), बागमती प्रदेशमा ३९३.८२५ मेगावाट (१४ आयोजना), लुम्बिनी प्रदेशमा ५३.०२ मेगावाट (२ आयोजना) र कर्णाली प्रदेशमा २०.२५ मेगावाट (३ आयोजना) रहेका छन् ।

दिब्यज्योती हाइड्रोपावर लिमिटेडका अध्यक्ष सतिस न्यौपानेले आयोजनाका लागि आवश्यक पर्ने विद्युत विकास विभागको अनुमति, वातावरणीय प्रभाव मूल्यांकन र नेपाल विद्युत प्राधिकरणसँगको पीपीए लगायतका सबै कानूनी प्रक्रियाहरु पूरा भइसकेको जानकारी दिए । वित्तीय व्यवस्थापनको टुंगो लागेसँगै आयोजनाको भौतिक निर्माण कार्य तत्काल तीव्र गतिमा अगाडि बढाइने उनले बताए ।

विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ र ‘२०२५’ को उपाधि जित्न सफल सिटिजन्स बैंकले डिजिटल बैंकिङमा समेत आफूलाई अग्रणी राखेको छ । बैंकले हालै फोनपेसँगको सहकार्यमा नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्ड ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । साथै, ‘जेन–जी सेभिङ अकाउन्ट’, ‘डिजी बैंक सेवा’ र फ्रिलान्सरहरुका लागि विशेष बचत खाता जस्ता नवीनतम् सेवाहरुमार्फत बैंकले २० लाख २१ हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

देशका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ ए.टि.एम. र ४२ शाखारहित बैंकिङ इकाइहरुमार्फत सिटिजन्स बैंकले आफ्नो दरिलो उपस्थितिलाई थप मजबुत बनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।