तरलता व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाबाट ४० अर्ब उठाउँदै राष्ट्र बैंक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न आज आइतबार ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।

केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले २१ दिनका लागि उक्त परिमाणको निक्षेप संकलन गर्न लागेको हो। बजारमा पैसाको उपलब्धता बढी भएपछि त्यसलाई सन्तुलनमा राख्न राष्ट्र बैंकले यो कदम चालेको हो।

बैंकले जारी गरेको सूचना अनुसार यस निक्षेप संकलन उपकरणको बोलकबोल आजै वैशाख ३० गते दिउँसो ३:०० बजेसम्म अनलाइन बिडिङ सिस्टम मार्फत सम्पन्न हुनेछ। यस प्रक्रियामा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले बहु-ब्याजदरमा आफ्नो प्रस्ताव पेस गर्न सक्नेछन्। संकलन गरिएको यस निक्षेपको सावाँ तथा ब्याज भुक्तानी आगामी असार १० गते गरिने बैंकले जनाएको छ।

यस बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। सहभागी संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान गरिएको रकमसम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। निक्षेप संकलनको अन्तिम ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण हुनेछ।

निक्षेप संकलनको बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर कबोल गर्ने संस्थालाई प्राथमिकता दिइनेछ। यदि धेरै संस्थाहरूले समान ब्याजदर प्रस्ताव गरेको खण्डमा ‘प्रो-राटा बेसिस’ मा रकम बाँडफाँड गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।