काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश प्रतिनिधि सभामा पेश गरेका छन्।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा अध्यादेश प्रस्तुत गर्दै उनले नेपालको संविधानको धारा ११४ को उपधारा (१) अनुसार संघीय संसद्को दुवै सदनको अधिवेशन सञ्चालन नभएको अवस्थामा तत्काल कानुनी व्यवस्था गर्न आवश्यक परे मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी गर्न सकिने व्यवस्था रहेकाले सोही प्रावधानअनुसार अध्यादेश ल्याइएको जानकारी दिए।
अर्थमन्त्री वाग्लेले जारी गरिएको अध्यादेश ऐनसरह लागू हुने उल्लेख गर्दै आर्थिक तथा वित्तीय अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउन यसको आवश्यकता परेको बताए।
उनका अनुसार तस्करी, भन्सार तथा अन्तःशुल्क छलि, प्रत्यक्ष तथा अप्रत्यक्ष करसम्बन्धी कसूर, धितोपत्र तथा कमोडिटिज बजारमा हुने चलखेल (मार्केट म्यानिपुलेसन), भित्री कारोबार (इन्साइडर ट्रेडिङ), मुद्रा तथा बैंकिङ अपराध, वित्तीय तथा विदेशी विनिमयसम्बन्धी कसूर, विनिमय अधिकारपत्र तथा बीमासम्बन्धी अपराधसँग जोडिएका सम्पत्ति शुद्धीकरणका गतिविधिमाथिको अनुसन्धान र अभियोजनलाई थप प्रभावकारी बनाउन अध्यादेश जारी गरिएको हो।
सरकारले वित्तीय अपराध नियन्त्रण, अवैध आर्थिक कारोबारमा निगरानी तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सम्पत्ति शुद्धीकरण नियन्त्रण प्रणालीलाई सुदृढ बनाउने उद्देश्यसहित अध्यादेश ल्याएको जनाएको छ।

Comment