काठमाडौं । प्राथमिक सेयर बजारमा नयाँ कम्पनीहरूको आकर्षण बढ्दै गएको छ । हाल ९८ वटा कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन् । ती कम्पनीहरूले कुल ६६ अर्ब रुपैयाँभन्दा बढीको आईपीओ निष्कासन गर्ने तयारी गरेका हुन् ।
धितोपत्र बोर्डका अनुसार ९८ कम्पनीले सर्वसाधारणका लागि ४४ करोड २१ लाख ७२ हजार १ सय ३२ कित्ता सेयर जारी गर्न अनुमति मागेका छन् । प्रस्तावित आईपीओको कुल आकार ६६ अर्ब २३ करोड ५५ लाख ४२ हजार रुपैयाँ बराबर रहेको छ ।
क्षेत्रगत रूपमा हेर्दा उत्पादन तथा प्रशोधन क्षेत्रका २६ कम्पनी अग्रस्थानमा रहेका छन् । यी कम्पनीहरूले ३४ अर्ब २३ करोड रुपैयाँभन्दा बढी बराबरको १५ करोड ५२ लाख कित्ता सेयर निष्कासनको प्रक्रिया अघि बढाएका छन् ।
त्यस्तै, ३२ वटा जलविद्युत् कम्पनीले १५ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी बराबरको १५ करोड १९ लाख कित्ता आईपीओ जारी गर्न आवेदन दिएका छन् । होटल तथा पर्यटन क्षेत्रका १८ कम्पनीले ६ अर्ब ४५ करोड रुपैयाँ बराबरको आईपीओ ल्याउने तयारी गरेका छन् ।
लगानी समूहअन्तर्गत पाँच कम्पनीले ३ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको सेयर निष्कासन गर्न आवेदन दिएका छन् भने तीन माइक्रो इन्स्योरेन्स कम्पनीले ६७ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ प्रस्ताव गरेका छन् । अन्य क्षेत्रका १४ कम्पनीले पनि ५ अर्ब ९० करोड रुपैयाँभन्दा बढीको सेयर निष्कासन प्रक्रिया अघि बढाएका छन् ।
आईपीओ स्वीकृतिमा ढिलाइप्रति व्यवसायी असन्तुष्ट
धितोपत्र बोर्ड लामो समय अध्यक्षविहीन हुँदा आईपीओ स्वीकृति प्रक्रिया प्रभावित भएको व्यवसायीहरूको गुनासो छ । बोर्डमा नेतृत्व अभाव र थप कागजात माग्ने प्रक्रियाले अनुमतिमा ढिलाइ भएको आरोप लगाइएको छ ।
ऊर्जा उत्पादकहरूले सार्वजनिक रूपमा नै आईपीओ अनुमति प्रक्रिया सहज बनाउन माग गर्दै आएका छन् । केही व्यवसायीहरूले स्वीकृतिका क्रममा अनियमितता र कमिसन मागिएको आरोप समेत लगाएका थिए ।
यसअघि बोर्डका अध्यक्ष रहेका सन्तोषनारायण श्रेष्ठ को कार्यकालमा सीमित कम्पनीले मात्र अनुमति पाएका थिए । उनीमाथि आफ्नै लगानी रहेको कम्पनीलाई आईपीओ अनुमति दिएको विषयमा विवाद समेत उत्पन्न भएको थियो । यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पनि अनुसन्धान अघि बढाएको थियो ।
यद्यपि, धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरे ले आवश्यक प्रक्रिया पूरा गरेका कम्पनीलाई नियमित रूपमा अनुमति दिइँदै आएको बताएका छन् ।
सबैभन्दा धेरै आईपीओ जलविद्युत् कम्पनीहरूको
सेबोनको पाइपलाइनमा रहेका कम्पनीमध्ये जलविद्युत् क्षेत्र सबैभन्दा अगाडि देखिएको छ । सबैभन्दा ठूलो प्रस्तावित आईपीओ सिउरी न्यादी पावर लिमिटेड को रहेको छ । कम्पनीले ३ करोड ३ लाखभन्दा बढी कित्ता सेयर निष्कासनका लागि आवेदन दिएको छ ।
त्यसपछि युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेड, मेवा डेभलपर्स लिमिटेड, भिजन इनर्जी एण्ड पावर लिमिटेड लगायतका कम्पनीहरूले ठूलो परिमाणमा आईपीओ ल्याउने तयारी गरेका छन् ।
यससँगै जलविद्युत् क्षेत्रमा लगानीकर्ताको आकर्षण अझ बढ्ने अपेक्षा गरिएको छ । विशेषज्ञहरूका अनुसार पाइपलाइनमा रहेका कम्पनीहरूको आईपीओ स्वीकृति प्रक्रिया तीव्र भएमा नेपालको पुँजी बजार थप चलायमान बन्न सक्छ ।

Comment