काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरणमा तेस्रो भ्रष्टाचार मुद्दा दायर भएको छ। निर्माण कम्पनीलाई सम्झौताविपरीत कर छुट दिएको आरोपमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्की सहित १४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारले कर छुटमार्फत राज्यलाई नोक्सानी पुर्याएको ठहर गर्दै तीन अर्ब ६५ करोड रुपैयाँभन्दा बढी विगो दाबी गरेको छ। आयोगका अनुसार विमानस्थल निर्माणका क्रममा मूल सम्झौतामा नभएको सुविधा दिँदै निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ
लाई अवैध रूपमा कर छुट प्रदान गरिएको थियो।
मुद्दामा तत्कालीन पर्यटन सचिव शंकरप्रसाद अधिकारी, महेश्वर न्यौपाने, सहसचिवहरू सुरेश आचार्य र डण्डुराज घिमिरेलाई पनि प्रतिवादी बनाइएको छ। साथै अर्थ मन्त्रालयका तत्कालीन सहसचिव केवलप्रसाद भण्डारी, उपसचिव युगराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजीव गौतम, आयोजना निर्देशक प्रदीप अधिकारी तथा इन्जिनियर योगेश अर्यालविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
त्यसैगरी निर्माण कम्पनीका अध्यक्ष वाङ बो र आयोजना निर्देशक याङ छिगाङलाई समेत प्रतिवादी बनाइएको छ। उनीहरूमाथि तीन अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोप लगाइएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित अनियमितताका विषयमा यसअघि पनि विभिन्न चरणमा भ्रष्टाचार मुद्दा दायर भइसकेका छन्। अख्तियारले पछिल्लो मुद्दालाई विमानस्थल निर्माण प्रकरणको तेस्रो ठूलो कारबाहीका रूपमा लिएको छ।

Comment