काठमाडौं । टाटा मोटर्स प्यासेन्जर भेहिकल्स लिमिटेडले अप्रिल २०२६ मा सवारी बिक्रीमा उल्लेखनीय वृद्धि हासिल गरेको छ।
कम्पनीले मे १ मा मुम्बईबाट सार्वजनिक गरेको विवरणअनुसार अप्रिल महिनामा कुल ५९ हजार ७०१ युनिट सवारी साधन बिक्री भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा भएको ४५ हजार ५३२ युनिटको तुलनामा ३१.१ प्रतिशतले बढी हो। उक्त तथ्याङ्कमा टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडको बिक्रीसमेत समावेश गरिएको छ।
स्वदेशी बजारतर्फ कम्पनीले थप सशक्त प्रदर्शन गरेको छ। अप्रिल २०२६ मा ५९ हजार युनिट सवारी साधन बिक्री गर्दै ३०.५ प्रतिशतको वृद्धि हासिल गरेको कम्पनीले जनाएको छ। गत वर्ष सोही अवधिमा ४५ हजार १९९ युनिट बिक्री भएको थियो।
निर्याततर्फ पनि कम्पनीले उल्लेखनीय प्रगति गरेको छ। अन्तर्राष्ट्रिय बजारमा ११०.५ प्रतिशतको वृद्धि दर्ता गर्दै ७०१ युनिट सवारी निर्यात गरिएको छ, जुन अघिल्लो वर्षको ३३३ युनिटको तुलनामा दोब्बरभन्दा बढी हो।
विशेषगरी विद्युतीय सवारी साधन (इभी) क्षेत्रमा कम्पनीको प्रदर्शन अझ प्रभावशाली देखिएको छ। अप्रिल २०२६ मा कुल ९ हजार १५० युनिट इभी बिक्री भएको छ, जुन गत वर्षको ५ हजार ३१८ युनिटको तुलनामा ७२.१ प्रतिशतले वृद्धि हो। कम्पनीले भारतमा इभी प्रवर्द्धनलाई प्राथमिकता दिँदै दिगो यातायात प्रणालीमा जोड दिएको जनाएको छ।
१८० अर्ब अमेरिकी डलर बराबरको टाटा समूह अन्तर्गत रहेको यस कम्पनीलाई यसअघि टाटा मोटर्स लिमिटेडका रूपमा चिनिन्थ्यो। राष्ट्रिय कम्पनी कानून न्यायाधिकरण, मुम्बई बेन्चको स्वीकृतिपछि २०२५ अक्टोबर १३ देखि कम्पनीको नाम परिवर्तन गरी टाटा मोटर्स प्यासेन्जर भेहिकल्स लिमिटेड कायम गरिएको हो।
हाल कम्पनीले नवीन डिजाइन, उच्च सुरक्षा मापदण्ड र उत्कृष्ट कार्यक्षमताका कार तथा एसयूभीहरूको विविध पोर्टफोलियोमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

Comment