याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज (बैशाख १६ गते) देखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणलाई शेयर बिक्रीमा ल्याएको हो।

कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत बराबर २८ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ७ लाख कित्ता स्थानीय बासिन्दा र २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई वितरण भइसकेको छ। त्यस्तै, १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र ४२ हजार कित्ता कर्मचारीलाई छुट्याइएको थियो।

अब कम्पनीले सर्वसाधारणका लागि १७ करोड ४३ लाख रुपैयाँ बराबरको १७ लाख ४३ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो। यसमा न्यूनतम १० कित्ता र अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। निष्काशन छिटोमा बैशाख २२ गते बन्द हुने र माग नपुगेमा बैशाख ३० गतेसम्म खुला रहनेछ।

कम्पनीको आईपीओलाई रेटिङ्गमा केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

याम्बालिङ्ग हाइड्रोपावरले ७.२७ मेगावाट क्षमताको याम्बालिङ्ग खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। उक्त आयोजनाको कुल अनुमानित लागत १ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत करिब २५ करोड ७३ लाख रुपैयाँ रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अझै २५ वर्ष ६ महिना बाँकी रहेको कम्पनीले जनाएको छ।

लगानी फिर्ता अवधिको हिसाबले परियोजनाको साधारण पेब्याक अवधि १०.७६ वर्ष र डिस्काउन्टेड पेब्याक अवधि १९.८७ वर्ष रहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका शाखाबाट ‘सी–आस्बा’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साथै मेरो शेयर अनलाइन प्रणाली प्रयोग गरेर पनि आईपीओमा आवेदन दिन सकिनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।