काठमाडौं । गृहमन्त्री सुधन गुरूङ सम्पत्ति शुद्धीकरण अनुसन्धानमा परेका व्यक्तिहरूसँग व्यवसायिक सम्बन्धमा रहेको तथ्य सार्वजनिक भएपछि उनको पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ ।
सम्पत्ति शुद्धीकरणका अभियुक्तका रूपमा अनुसन्धानमा रहेका दीपक भट्ट, सुलभ अग्रवाललगायतसँग जोडिएको स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा गुरूङ संस्थापक सेयरधनी रहेको खुलेको हो । उक्त कम्पनीको प्रारम्भिक सेयर लगत सूचीमा ४९औँ नम्बरमा गुरूङको नाम रहेको र उनले २५ लाख रुपैयाँ बराबरको लगानी गरेको देखिएको छ ।
२०७९ सालमा लाइसेन्स प्राप्त गरेको उक्त लघु बीमा कम्पनीमा इन्फिनिटी होल्डिङ्स, जगदम्बा ग्रुप तथा शंकर ग्रुपजस्ता व्यवसायिक समूहहरूको समेत लगानी रहेको बताइएको छ । यी समूहसँग सम्बन्धित केही सञ्चालकहरू हाल सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका छन् ।
तर, गृहमन्त्री गुरूङले हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा भने उक्त इन्स्योरेन्स कम्पनीमा रहेको सेयरबारे उल्लेख गरेका छैनन् । उनले आफ्नो विवरणमा होप होल्डिङ्स र अनुज प्रमियम अपार्टमेन्ट्समा मात्रै संस्थापक सेयर रहेको उल्लेख गरेका छन् भने धितोपत्र बजारमा कारोबार हुने सेयरतर्फ २ करोड ७४ लाख रुपैयाँ बराबरको लगानी देखाएका छन् ।
विशेषज्ञहरूका अनुसार स्टार माइक्रो इन्स्योरेन्सको सेयर हाल धितोपत्र बजारमा कारोबार हुने प्रकृतिको नभएकाले यो लगानी छुट्टै रूपमा खुलाउनुपर्ने हुन्छ । यस्तो अवस्थामा उक्त विवरण नखुलाउनु पारदर्शिता र जवाफदेहिताको दृष्टिले गम्भीर विषय भएको बताइन्छ ।
यसैबीच, बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालको कार्यकालमा सात वटा माइक्रो इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिइएको थियो । ती कम्पनीहरू लाइसेन्स पाउनमा दीपक भट्टको प्रभाव रहेको चर्चा समेत हुँदै आएको छ ।
त्यस्तै, ‘हामी नेपा’ नामक संस्थामा सबैभन्दा ठूलो वैदेशिक तथा आन्तरिक चन्दा दिने समूहका रूपमा शंकर ग्रुपको नाम सार्वजनिक भइसकेको छ, जसले गुरूङसँगको सम्बन्धलाई थप प्रश्नको घेरामा ल्याएको छ ।




Comment