काठमाडौँ। सरकारले कर्मचारीलाई १५-१५ दिनमा तलब दिने निर्णय गरेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले अर्धमासिक रूपमा सरकारी कर्मचारीहरूलाई तलब दिने निर्णय गरेका हुन्। कर्मचारीको आर्थिक सहजताका लागि मन्त्रालयले नयाँ व्यवस्था सुरु गर्न लागेको हो।
अहिलेसम्म भने ३० दिन अर्थात् महिना दिनमा तलब दिने गरिएको छ।
अर्थमन्त्री स्तरबाट ४ वैशाखको निर्णयअनुसार महिनामा दुईपटक तलब र भत्ताको भुक्तानी हुनेछ। अर्थ मन्त्रालयका सहसचिव सुमन दाहालद्वारा हस्ताक्षरित पत्रमा यो व्यवस्था मिलाउन भन्दै महालेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ।
कर्मचारीहरूको दैनिक खर्च व्यवस्थापनमा सहजता ल्याउन र नगद प्रवाहलाई बजारमा चलायमान बनाउन यो कदम चालिएको हो। यसअघि मासिक रूपमा भुक्तानी हुँदा कर्मचारीहरूलाई महिनाको मध्यतिर आर्थिक दबाब पर्ने गरेको गुनासोलाई सम्बोधन गर्दै यो ‘अर्धमासिक’ प्रणाली अघि सारिएको हो।
महालेखा नियन्त्रकलाई निर्देशनसहित लेखिएको पत्रमा भनिएको छ‚ “राष्ट्रसेवक सरकारी कर्मचारीहरूको तलब-भत्ता सुविधा वितरणको कार्य महिना भुक्तान भएपछि मासिक रुपमा गर्दै आइएकोमा अब यसलाई अर्धमासिकरूपमा भुक्तानी गर्ने परिपाटी सुरूवात गर्ने सन्दर्भमा अर्धमासिक रूपमा वितरण गर्ने आवश्यक व्यवस्था मिलाउन मिति २०८३।०१।०४ (मा. अर्थ मन्त्रीस्तर) को निर्णयानुसार अनुरोध छ ।”


Comment