काठमाडौँ । नेपालमा आउने वैदेशिक लगानी प्रतिबद्धता चालु आर्थिक वर्षमा उल्लेखनीय रूपमा घटेको देखिएको छ।
चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा कुल ४१ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.९० प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा ५७ अर्ब ९७ करोड ५४ लाख रुपैयाँ बराबरको प्रतिबद्धता आएको थियो।
उद्योग विभागका अनुसार साउनदेखि चैतसम्म अटोमेटिक रुटमार्फत ४२६ उद्योगमा ४ अर्ब ९ करोड ८७ लाख रुपैयाँ तथा अप्रुभल रुटमार्फत १८९ उद्योगमा ३७ अर्ब ६९ करोड ९८ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।
क्षेत्रगत रूपमा हेर्दा सूचना प्रविधि र पर्यटन क्षेत्रमा लगानीकर्ताको आकर्षण बढ्दो देखिएको छ। नौ महिनामा सूचना प्रविधिमूलक ३४६ उद्योगका लागि १ अर्ब ४५ करोड ७२ लाख रुपैयाँ तथा पर्यटनमूलक १६४ उद्योगका लागि ११ अर्ब ४६ करोड २० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता स्वीकृत भएको छ।
लगानी रकमको आधारमा भने कृषि तथा वनजन्य क्षेत्र सबैभन्दा अगाडि देखिएको छ। यस अवधिमा १६ उद्योगका लागि २२ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ, जुन कुल लगानीको सबैभन्दा ठूलो हिस्सा हो।
यसैगरी, उत्पादनमूलक क्षेत्रका ३८ उद्योगमा २ अर्ब ५४ करोड ५६ लाख रुपैयाँ, उर्जामूलक क्षेत्रमा २ उद्योगमा २ करोड ३४ लाख २५ हजार रुपैयाँ, खनिज क्षेत्रमा ११ करोड ५० लाख रुपैयाँ र सेवामूलक क्षेत्रमा ३ अर्ब ३९ करोड ६४ लाख रुपैयाँ लगानी प्रस्ताव भएको छ।
तथ्यांकले कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा सकारात्मक संकेत देखाए पनि ऊर्जा र पूर्वाधार क्षेत्रमा भने विदेशी लगानी न्यून रहेको देखाएको छ। सरकारको नीतिगत अस्थिरता र झन्झटिलो प्रक्रिया जस्ता कारणले यी क्षेत्रमा लगानीकर्ताको आकर्षण घटेको विश्लेषण गरिएको छ।
यस अवधिमा उद्योग दर्ताको तथ्यांक हेर्दा साना उद्योगमा लगानी बढी केन्द्रित भएको देखिन्छ। नौ महिनामा ५९९ साना, ८ मझौला र ८ ठूला उद्योग दर्ता भएका छन्।

Comment