९ महिनामा सरकारको खर्च आम्दानीभन्दा डेढ खर्ब बढी, पुँजीगत खर्च २३ प्रतिशत मात्रै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सरकारको पुँजीगत खर्च सुस्त देखिएको छ । चालू आवको साउनदेखि चैत मसान्तसम्म ९६ अर्ब १९ करोड ५१ लाख रुपैयाँ मात्र खर्च भएको छ । यो कुल लक्ष्यको जम्मा २३.५८ प्रतिशत मात्रै हो । यस शीर्षकमा ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

अघिल्लो आर्थिक वर्ष २०८१-८२ को सोही अवधिमा यस्तो खर्च ३२.२४ प्रतिशत भएको थियो ।

चालु आर्थिक वर्षको ९ महिनामा सरकारको खर्च आम्दानीको तुलनामा डेढ खर्ब बढी भएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म सरकारले ९ खर्ब ७ अर्ब १७ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चालु खर्च तर्फ भने सरकारले चालु आर्थिक वर्षमा ११ खर्ब ८० अर्ब ९८ करोड खर्च गर्ने लक्ष्य राखेकोमा चैत मसान्तसम्म ६३.३ प्रतिशत अर्थात् ७ खर्ब ४७ अर्ब ५२ करोड ४४ लाख रुपैयाँ खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

त्यस्तै, सरकारले राजस्व संकलनमा वार्षिक लक्ष्यको झण्डै ६० प्रतिशत प्रगति हासिल गरेको छ । चैत्र मसान्तसम्म ८ खर्ब ८६ अर्ब २८ करोड ३६ लाख रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१-८२ को सोही अवधिमा राजस्व कुल १४ खर्ब ८० अर्ब रुपैयाँ संकलन गर्ने सरकारको लक्ष्य थियो ।

कुल बजेट खर्चमा सरकारले हालसम्म १० खर्ब ५९ अर्ब ९५ करोड ७२ लाख रुपैयाँ खर्च गरेको छ । जुन ५३।९७ प्रतिशत रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, समीक्षा अवधिसम्म सरकारले २ खर्ब १६ अर्ब २३ करोड ७७ लाख रुपैयाँ वित्तीय व्यवस्थापनमा खर्च गरेको छ । चालु आर्थिक वर्षमा सरकारले वित्तीय व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।