काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिना (फागुनसम्म) को आर्थिक तथा वित्तीय तथ्याङ्कले नेपालको भुक्तानी प्रणाली तीव्र गतिमा डिजिटल माध्यमतर्फ रूपान्तरण हुँदै गएको देखाएको छ।
डेबिट कार्ड, मोबाइल बैंकिङ र क्यूआर कोडमार्फत हुने कारोबारमा उल्लेखनीय वृद्धि देखिँदा उपभोक्ता व्यवहार, बैंकिङ पूर्वाधार र समग्र वित्तीय प्रणालीमा संरचनात्मक परिवर्तन भइरहेको संकेत मिलेको छ।
फागुन महिनामा मात्र डेबिट कार्डमार्फत ९८ लाख पटक कारोबार भई ७५ अर्ब ७३ करोड रुपैयाँ बराबरको लेनदेन भएको छ। औसत प्रति कारोबार करिब ७–८ हजार रुपैयाँ रहेको देखिन्छ, जसले डेबिट कार्ड मुख्यतः एटीएमबाट नगद झिक्ने तथा मध्यम आकारका भुक्तानीका लागि प्रयोग हुने गरेको स्पष्ट पार्छ। तर, मोबाइल बैंकिङ र अन्य डिजिटल माध्यमको बढ्दो प्रयोगका कारण यसको विस्तार अपेक्षाकृत मध्यम देखिएको छ।
मोबाइल बैंकिङतर्फ भने उल्लेखनीय वृद्धि देखिएको छ। ६ करोड २५ लाखभन्दा बढी कारोबारमार्फत ५ खर्ब ४० अर्ब ७६ करोड रुपैयाँ बराबरको लेनदेन भएको छ। औसत कारोबार आकार करिब ८–९ हजार रुपैयाँ रहेको मोबाइल बैंकिङ तलब भुक्तानी, व्यापारिक कारोबार, बिल सेटलमेन्ट तथा फन्ड ट्रान्सफर जस्ता विविध प्रयोजनका लागि प्रयोग भइरहेको छ। यसले बैंकिङ प्रणालीमा मोबाइल बैंकिङलाई प्रमुख आधारका रूपमा स्थापित गरेको देखिन्छ।
क्यूआर कोडमार्फत हुने भुक्तानी पनि तीव्र रूपमा विस्तार भइरहेको छ। फागुनसम्म ४ करोड ९० लाख कारोबारमार्फत १ खर्ब २५ अर्ब ९२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। औसत कारोबार आकार २ हजार ५ सयदेखि ३ हजार रुपैयाँसम्म सीमित रहेकाले यो माध्यम मुख्यतः दैनिक उपभोग, साना खुद्रा कारोबार तथा सेवा क्षेत्रमा केन्द्रित रहेको देखिन्छ। कम लागत, सहज प्रयोग र तत्काल सेटलमेन्टका कारण क्यूआर कोड साना व्यवसायीका लागि आकर्षक विकल्प बनेको छ।
तीनै माध्यमको तुलनात्मक विश्लेषण गर्दा डेबिट कार्ड परम्परागत र स्थिर, मोबाइल बैंकिङ बहुउद्देश्यीय तथा उच्च मूल्य कारोबारका लागि प्रमुख, र क्यूआर कोड साना तथा खुद्रा भुक्तानीका लागि तीव्र विस्तारशील माध्यमका रूपमा देखिएका छन्।
सरकार रनेपाल राष्ट्र बैंकले पछिल्ला वर्षहरूमा डिजिटल भुक्तानीलाई प्राथमिकता दिँदै आएका छन्। विशेषगरी कोरोना महामारीपछि डिजिटल कारोबारमा उल्लेखनीय फड्को आएको छ। यसले नगद कारोबार घटाउँदै पारदर्शिता, सुशासन र सेवा सरलीकरणमा समेत टेवा पुर्याएको देखिन्छ।
विश्वका धेरै मुलुकहरू नगदरहित अर्थतन्त्रतर्फ उन्मुख भइरहेका बेला नेपालमा पनि डिजिटल भुक्तानीको विस्तारले अर्थतन्त्रमा नयाँ ऊर्जा र सकारात्मक संकेत देखिएको जानकारहरू बताउँछन्।

Comment