ललितपुर । स्थानीय तहले अधिकारसँगै स्वास्थ्य सेवा प्रवाहप्रति जिम्मेवार र जवाफदेही बन्नुपर्नेमा आयुर्वेदिक स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूले जोड दिएका छन्।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरद्वारा शनिबार आयोजित जिल्लास्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ कन्सल्टेन्ट सालोक्य चिकित्सक डा. पुष्पराज पौडेलले नागरिकलाई आरोग्य सेवा उपलब्ध गराउनु स्थानीय तहको दायित्व भएको बताए। उनले “स्वस्थ नेपाली, समृद्ध नेपाल” बनाउने राज्यको लक्ष्यअनुसार प्रभावकारी स्वास्थ्य सेवा प्रवाहमा कर्मचारीहरू जिम्मेवार हुनुपर्नेमा जोड दिए।
“आधारभूत स्वास्थ्य सेवा स्थानीय तहको दायित्व हो। सेवाग्राहीलाई केन्द्रमा राखेर सेवा दिनुपर्छ। सरकारी सेवा लिइसकेपछि जिम्मेवारीबाट पन्छिन पाइँदैन,” उनले भने। उनले योजना तर्जुमा गर्दा कार्यान्वयन सहज हुने गरी यथार्थपरक योजना बनाउन सुझाव दिए।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. अमुल्य दाहालले आयुर्वेद सेवा प्रभावकारी बनाउन तथ्यांक प्रस्तुतिमा मात्र सीमित नभई सेवा सुधारतर्फ केन्द्रित योजना बनाउन आग्रह गरे। “स्वास्थ्य सेवा संवेदनशील क्षेत्र हो। सरसफाइ, व्यवहार र आचरणमा सुधार गर्दै समन्वयात्मक भूमिकामा जोड दिन आवश्यक छ,” उनले भने।
जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरका प्रमुख आयुर्वेद कन्सल्टेन्ट डा. पुनम नेपालले पछिल्लो समय आयुर्वेद उपचारप्रति जनचासो बढ्दै गएको जानकारी दिँदै अझै व्यापक सचेतना आवश्यक रहेको बताए।
चिकित्सालयले स्त्रीरोग तथा प्रसूति, मानसिक स्वास्थ्य तथा बालरोग सेवालाई प्राथमिकता दिएको जनाएको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ४७.३४ प्रतिशत आर्थिक प्रगति हासिल भएको पनि जानकारी दिइयो।
साथै, चिकित्सालयले प्रत्येक बुधबार बिहान ८ बजेदेखि ‘पथ्य आहार कार्यक्रम’ सञ्चालन गर्दै आएको छ। बागमती प्रदेश सरकारको पहलमा सञ्चालन गरिएको उक्त कार्यक्रममार्फत ऋतु अनुसारको आहार–विहारबारे सर्वसाधारणलाई जानकारी प्रदान गरिँदै आएको छ।

Comment