काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय निर्देशक डेभिड सिर्लेनबिच बुधबार भेटवार्ता भएको छ ।
भेटवार्तामा ‘नेपाल डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्ट’ कार्यान्वयनमा तीव्रता दिन दुई पक्षको बिचमा सहमति भएको छ ।
सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सम्पन्न भेटवार्तामा आपसी सहयोगसम्बन्धी वर्तमान अवस्था र आगामी सहकार्यका सम्बन्धमा छलफल भएको जनाइएको छ ।
भेटवार्ताका क्रममा निर्देशक सिर्लेनले मन्त्री तिमिल्सिनालाई बधाई तथा शुभकामना व्यक्त गर्दै विश्व बैंकको सहयोगमा कार्यान्वयन हुन लागेको डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्टमा सरकारको प्राथमिकताप्रति चासो व्यक्त गरे ।
उनले सो परियोजनाले सरकारले ल्याएको शासकीय सुधार कार्यसूची कार्यान्वयनमा सहयोग पुर्याउने विश्वास समेत व्यक्त गरे ।
त्यसैगरी, सिर्लेनले नेपालको सूचना प्रविधि क्षेत्रको प्रवर्द्धनका लागि सूचना प्रविधि पहुँच विस्तार, डेटा व्यवस्थापन, नेपालको डिजिटल रूपान्तरण, मिडिया साक्षरता र शासकीय सुधार लगायतका क्षेत्रमा नेपाल सरकारलाई सहयोग गर्न विश्व बैंक प्रतिबद्ध रहेको जानकारी गराए।
जबाफमा मन्त्री तिमिल्सिनाले विश्व बैंकको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै नेपाल डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्ट कार्यान्वयनमा तीव्रता दिइने बताए । उनले नयाँ सरकार गठनपछि पूर्वाधार विकास र नागरिक सेवा प्रवाहमा नतिजामुखी काम सुरु भइसकेको जानकारी गराए । विगतभन्दा फरक तरिकाले काम गरी विभिन्न योजनामा देखिएका समस्या समाधान गर्नतर्फ केन्द्रित हुने सरकारको प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।
भेटवार्तामा परराष्ट्र मन्त्रालयका प्रतिनिधिसहित सूचना मन्त्रालयका अन्य अधिकारीहरूको पनि उपस्थिति थियो।

Comment