काठमाडौं । सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारी निर्णयसँगै बैंक तथा वित्तीय क्षेत्र पनि प्रत्यक्ष रूपमा प्रभावित हुने भएको छ। इन्धनको अन्तर्राष्ट्रिय अभाव र मूल्यवृद्धि बढ्दै गएपछि इन्धन खपत घटाउने उद्देश्यले सरकारले सातामा २ दिन बिदा र अन्य ५ दिन कार्यालय समय वृद्धि गर्ने निर्णय गरेको हो।
सरकारका अनुसार अब सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म रहनेछ। शनिबारसहित दुई दिन बिदा पर्ने व्यवस्था लागू भएपछि बैंकहरूको सेवा तालिका पनि बदलिने संकेत देखिएको छ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु प्रसाद पौडेलका अनुसार राष्ट्र बैंक सरकारी कार्यालय भएकाले सरकारको निर्णयअनुसार नै २ दिन सार्वजनिक बिदा लागू हुनेछ। “हामी आधिकारिक पत्रको प्रतीक्षामा छौँ। सरकारको निर्णय आएपछि राष्ट्र बैंकले निर्देशन जारी गर्छ,” पौडेलले बताए।
राष्ट्र बैंकको एकीकृत निर्देशन नम्बर १४ अनुसार, राष्ट्र बैंक बिदा हुँदा बैंक तथा वित्तीय संस्थाहरू पनि बिदा गर्नुपर्नेछ। तर अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्नुपर्ने भएमा राष्ट्र बैंकमा लिखित जानकारी गराउनुपर्ने व्यवस्था छ।
निर्देशनमा भनिएको छ—“नेपाल राष्ट्र बैंक खुलेको दिन तथा यस बैंकको बैंकिङ कार्यालयले बैंकिङ कारोबार गर्ने समयसम्म इजाजतपत्र प्राप्त संस्थाहरूले अनिवार्य रूपमा कार्यालय खोल्नुपर्नेछ। तर, नेपाल राष्ट्र बैंक खुलेको दिन र समयबाहेक अन्य बिदामा कारोबार गर्न चाहने बैंक तथा वित्तीय संस्थाले सम्बन्धित विभागमा लिखित रूपमा जानकारी दिनुपर्नेछ।”
यस आधारमा सातामा २ दिन बिदा लागू भएपछि बैंकहरू पनि दुई दिन बन्द हुने, तर सीमित काउन्टर र डिजिटल बैंकिङ सेवा भने सुरु रहने प्रवक्ता पौडेलले बताए। उनका अनुसार, राष्ट्र बैंक बिदाको दिनमा लिखित अनुमति लिएर मात्र नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएस लगायत अत्यावश्यक सेवा प्रदान गर्न पाइनेछ।
राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार, आकस्मिक सरकारी बिदा परेको दिन बैंकहरूले बिहान १०:०० बजेदेखि दिउँसो १:३० बजेसम्म आवश्यक विभाग सञ्चालन गरी अत्यावश्यक सेवा निरन्तरता दिनुपर्ने पनि उल्लेख छ।
सरकारको नयाँ निर्णयले बैंक–वित्तीय संस्थाहरूको कार्यप्रणाली, ग्राहक सेवाको पहुँच र सञ्चालनीय पक्षमा व्यापक प्रभाव पार्ने अनुमान गरिएको छ।

Comment