काठमाडाैं। सानिगाड हाइड्रो लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने अवधि थप गरेको छ। गत चैत ८ गतेदेखि बिक्री खुला गरिएको उक्त आईपीओमा अब स्थानीय बासिन्दाहरूले २०८३ वैशाख ७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
कम्पनीले आफ्नो कुल २ अर्ब ८५ करोड रुपैयाँ जारी पूँजीको १० प्रतिशत अर्थात् २८ करोड ५० लाख रुपैयाँ बराबरको २८ लाख ५० हजार कित्ता शेयर स्थानीयका लागि छुट्ट्याएको हो। यसअन्तर्गत अति प्रभावित क्षेत्र बझाङको बुंगल नगरपालिका वडा नं. १, २ र ४ का बासिन्दाका लागि १८ लाख ५२ हजार ५०० कित्ता र सोही नगरपालिकाका अन्य वडाहरू (३, ५, ६, ७, ९, १० र ११) का बासिन्दाका लागि ९ लाख ९७ हजार ५०० कित्ता शेयर सुरक्षित गरिएको छ।
यस आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले ढिलोमा वैशाख ७ गतेभित्र आफ्नो आवेदन बुझाइसक्नुपर्नेछ।

Comment