काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आज (चैत २२ गते) देखि आफ्ना शेयरधनीहरूका लागि हकप्रद शेयर बिक्री खुला गरेको छ। कम्पनीले वर्तमान चुक्ता पूँजीमा शतप्रतिशत अर्थात् १:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्दै कुल ४० करोड रुपैयाँ बराबरका ४० लाख कित्ता शेयर बिक्रीमा ल्याएको हो।
यसका लागि कम्पनीले गत फागुन १ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार, २०८२ माघ २९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई नामावलीमा सूचीकृत रहेका शेयरधनीहरू मात्र हकप्रद शेयरका लागि आवेदन दिन योग्य छन्। योग्य शेयरधनीहरूले आफ्ना प्रत्येक १ कित्ताबापत १ कित्ता अतिरिक्त शेयर खरिद गर्न सक्नेछन्।
प्रतिशेयर रु. १०० अंकित दरमा जारी गरिएको यस हकप्रदमा आवेदन आजदेखि सुरु भएको छ। आवेदन दिने अन्तिम म्याद २०८३ वैशाख १३ गतेसम्म तोकिएको छ।
कम्पनीका अनुसार हकप्रद निष्काशनमार्फत जुटाइने पूँजी आगामी परियोजना विस्तार तथा दीर्घकालीन वित्तीय सुदृढीकरणका लागि उपयोग गरिनेछ।

Comment