काठमाडौं । सरकार आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट निर्माण प्रक्रियामा औपचारिक रूपमा अघि बढेको छ। अर्थ मन्त्रालयले बजेट वक्तव्यको मस्यौदा तयार गर्न तथा बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण गर्न एक उच्चस्तरीय बजेट लेखन समिति गठन गरेको हो।
राजश्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तर कुमार खत्रीको संयोजकत्वमा गठन गरिएको समितिमा अर्थ मन्त्रालयका विभिन्न महाशाखा प्रमुखहरू सदस्यका रूपमा सहभागी छन्। समितिमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख डा. धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराई र वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेल रहेका छन्।
समितिले आगामी आर्थिक वर्षका लागि वार्षिक नीति तथा कार्यक्रम तयार गर्न आवश्यक सुझाव उपलब्ध गराउने, कार्यान्वयन गरिने आयोजना तथा कार्यक्रमहरूको प्राथमिकीकरणमा सहयोग गर्ने, र विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताको मस्यौदा तयार गर्ने जिम्मेवारी पाएको छ।
अर्थमन्त्रीले संघीय संसद्मा प्रस्तुत गर्ने बजेट वक्तव्यको अन्तिम मस्यौदा तयार पार्ने मुख्य कार्यभार पनि यो समितिलाई दिइएको छ। बजेट निर्माण प्रक्रियाको प्रारम्भसँगै सरकार आगामी आर्थिक वर्षका नीति, कार्यक्रम र खर्च व्यवस्थापनका आधारहरू तय गर्ने तयारीमा जुटेको संकेत मिलेको छ।

Comment