एमसीसी खारेज गरी समयको सम्मान गरियोस् : हर्क साम्पाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सांसद हर्क साम्पाङले बिहीबारको संसद बैठकमा सदन र सरकारले समयको महत्व गम्भीरतापूर्वक आत्मसात् गर्नुपर्ने भएकामा जोड दिए। उनले संसदको ढिलासुस्ती संस्कारसँगै सरकारी कामकारबाहीमा देखिने समय अव्यवस्थापनलाई देशको विकास रोक्ने प्रमुख कारणको रूपमा चित्रित गरे।

बैठकमा बोल्दै साम्पाङले अघिल्लो सपथ ग्रहणदेखि नै प्रतिनिधिसभाले समयको मूल्य नबुझेको टिप्पणी गरे। उनले आजको बैठकमा पनि निर्धारित समयभन्दा करिब १७ मिनेट ढिलाइ भएको उल्लेख गर्दै जनताले पठाएका प्रतिनिधिहरूले समयप्रति संवेदनशील हुनुपर्नेमा जोड दिए। उनका अनुसार, नेपाली समाजमा गढेको ‘ढिला–ढाला’ मानसिकता विकास अवरोधको मुख्य कारक बनेको छ।

साम्पाङले भने,‘जनताले हामीलाई ढिलो गर भनेर पठाएका होइनन्। २ बजेको बैठक ३ बजे सुरु हुन्छ भन्ने मानसिकता नै देश उन्नति गर्न नसक्नुको कारण हो। सबैभन्दा पहिले हामी आफैं बदलिनुपर्छ।’

सांसद साम्पाङले अमेरिकी सहायता परियोजना एमसीसीलाई ‘असमान, राष्ट्रघाती र सैन्य रणनीति जोडिएको सन्धी’ भन्दै तत्काल खारेज गर्न माग गरे। उनले एमसीसी नेपालका मूल राष्ट्रिय हित, स्वाधीनता र असंलग्न परराष्ट्र नीतिसँग मेल नखाने दाबी गर्दै यसलाई अनुमोदन प्रक्रियाबाट हटाउनुपर्ने स्पष्ट माग राखे।

उनले भने, ‘पृथ्वी रहिरहेसम्म देश रहन्छ। हाम्रो पहिचान, झण्डा, स्वाभिमान कायम रहनुपर्छ। देशको स्वाधिनता जोगाउन सैन्य रणनीतिक उद्देश्य राखेर ल्याइएका परियोजनाहरू स्वीकार्न सकिँदैन। त्यसैले एमसीसी खारेज गर्नुपर्छ।’

साम्पाङले सरकारप्रति आग्रह गर्दै जनताका प्रत्यक्ष माग, चासो र असन्तुष्टिलाई बुँदागत रूपमा सम्बोधन गर्नुपर्ने बताए। उनका अनुसार, मुलुकको हितविरुद्धका सम्झौताहरू कुनै पनि बहानामा स्वीकार्य हुन सक्दैनन्।

उनको अभिव्यक्तिसँगै संसदमा एमसीसीबारेको बहस पुनः तातिएको देखिएको छ। राजनीतिक दलहरूबीच विचार फरक भए पनि एमसीसीबारे निरन्तर उठ्ने प्रश्नले यो विषय फेरि एकपटक प्रमुख राजनीतिक एजेन्डाका रूपमा उभिने संकेत देखिएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।