काठमाडौँ। साताको तेस्रो कारोबार दिन आज (मंगलबार) नेप्से बढेको छ। कारोबार रकम भने घटेको छ।
आइतबार ७१.०५ अंकले ओरालो लागेको नेप्से सोमबार पनि ४७.७१ अंकले घटेको थियो। मंगलबार भने नेप्से १९.७० अंकले बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा ०.६९ प्रतिशतले बढेको नेप्से २८५१.०९ विन्दुमा पुगेको छ।
आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि ३.२६ अंकले बढेर ४८४.८४ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.६७ प्रतिशतले बढी हो। यस्तै फ्लोट इन्डेक्स ०.६४ प्रतिशतले बढ्दा सेन्सेटिभ फ्लोट इन्डेक्स पनि १.०२ प्रतिशतले उकालो लाग्यो।
सेयर बजारमा मंगलबार ३३९ कम्पनीको एक लाख ३७ हजार ८५७ पटकको कारोबारमा दुई करोड ७९ लाख ४२ हजार ७७९ कित्ता सेयर किनबेच भए। जसअनुसार मंगलबार ११ अर्ब ११ करोड २४ लाख १८ हजार ८०६ रुपैयाँको कारोबार भयो।
आइतबार १५ अर्ब तीन करोड ३३ लाख १० हजार ८६७ रुपैयाँको कारोबार भएको थियो भने सोमबार १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार १६८ रुपैयाँको कारोबार भएको थियो।
नेप्सेमा आज १९५ कम्पनीका सेयर मूल्य बढे। ६३ कम्पनीका सेयर मूल्य ओरालो लाग्दा नौ कम्पनीका सेयरमूल्य स्थिर रह्यो। नेप्सेमा मंगलबार १३ समूहको कारोबार भएकामा म्युचुअल फन्ड र अन्य समूहका उपसूचक मात्र घटे। बाँकी सबै ११ समूहका उपसूचक बढेका छन्। आइतबार र सोमबार सबै उपसमूहका सूचक राताम्मे बनेका थिए।
जसअनुसार वाणिज्य बैंक समूहको सूचक ०.७६‚ विकास बैंक ०.८०‚ फाइनान्स १.१२‚ होटेल तथा पर्यटन १.००‚ जलविद्युत् ०.७५ तथा लगानी समूहको उपसूचक ०.५६ प्रतिशतले बढे।
यसैगरी जीवन बिमा ०.५२‚ उत्पादन तथा प्रशोधन १.९४‚ लघुवित्त समूह ०.५१ प्रतिशतले बढे। म्युचुअल फन्ड ०.०७ प्रतिशतले घट्दा निर्जीवन बिमा समूहको उपसूचक ०.७६ प्रतिशतले उकालो लाग्यो।
यसैगरी अन्य समूहको उपसूचक ०.५५ प्रतिशतले ओरालो लाग्दा व्यापार समूहको सूचक भने ०.७४ प्रतिशतले बढ्यो।
नेप्सेमा सोमबार पाँच कम्पनीका सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। सकारात्मक सर्किट लाग्नेमा रिलायन्स स्पिनिङ मिल्स‚ भुजुङ हाइड्रोपावर लिमिटेड‚ सुपर खुदी हाइड्रोपावर लिमिटेड‚ रिजलाइन इनर्जी लिमिटेड र होटेल फरेस्ट इन लिमिटेड छन्। अर्थात् यी पाँच कम्पनीका लगानीकर्ताले १० प्रतिशतले आम्दानी गरे।
यस्तै सप्तकोसी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८.९६ प्रतिशतले घाटा बेहोरे।
कारोबार रकमका आधारमा तीन दिन यता लगातार रिडीपावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ। आज रिडीपावरको ४८ करोड ४८ लाख ४६ हजार ४३३ रुपैयाँको कारोबार भयो।
आइतबार रिडीको कारोबार ७१ करोड ११ लाख ७३ हजार ५५६ रुपैयाँको कारोबार भएको थियो भने सोमबार ६८ करोड ४१ लाख ३६ हजार ९९७ रुपैयाँको कारोबार भएको थियो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा कुमारी बैंक लिमिटेड सबैभन्दा अगाडि रह्यो। कुमारीको सेयर १५ लाख ६० हजार ६१ कित्ता किनबेच भयो। कुमारीको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता २३२ रुपैयाँ कायम रह्यो।

Comment