काठमाडौँ । नाबालिगलाई घरेलु कामदार बनाएर वर्षौँसम्म कुटपिट तथा श्रमशोषण गरेको आरोप लागेकी नेकपा एमालेकी लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मा पक्राउ परेकी छन्।
गएराति काठमाडौँ उपत्यका अपराध अनुसन्धान टोलीले धुम्बाराहीस्थित निवासबाटै उनलाई नियन्त्रणमा लिएको हो। सांसद शर्मालाई उनीकै श्रीमान् चिन्तामणि शर्माले आइतबार राति करिब ११ बजे पक्राउ परेको पुष्टि गरेका छन्।
डेढ वर्षअघि नै उनीमाथि घरमा ६ वर्षसम्म नाबालिग बालिका राखेर कुटपिट र श्रमशोषण गरेको उजुरी परेको थियो। बालिकाको अवस्था गम्भीर भएपछि काठमाडौँ महानगरपालिकाले उनलाई उद्धार गरेको थियो।
त्यतिबेला सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो, जसलाई सत्ता पक्षले दुरुपयोग गरेको आरोप लागेको थियो। सो निर्णयप्रति व्यापक आलोचना भएपछि मानव अधिकार आयोगले समेत फाइल झिकाएर चासो देखाएको थियो।
तत्कालीन मेयर बालेन्द्र शाह (बालेन)ले समेत सरकारको निर्णयप्रति प्रश्न उठाउँदै लेखेका थिए—
“सरी नानु, तिम्रा पीडककाविरुद्ध मुद्दा नचल्ने बनाएछन् सरकारले। नआत्तिनु, समय आउनेछ। विभेद र अपराध अन्त्य गर्न तिमीहरू नै सचेत हुनुपर्छ।”


Comment