काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको स्वागत गरेका छन्।
उनले यो कार्यसूचीले मुलुकको शासन प्रणालीलाई परिणाममुखी, पारदर्शी र उत्तरदायी बनाउँदै निजी क्षेत्रसँगको सहकार्यमा लगानीमैत्री वातावरण निर्माण, रोजगारी सिर्जना र राजस्व वृद्धि मार्फत आर्थिक विकासलाई गतिदिने आधार तयार गरेको बताएका छन्।
ढकालका अनुसार एउटै संरचनाभित्र समेटिएका डिजिटल सेवा प्रवाह, प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण, निजी क्षेत्रको संरक्षण–प्रवर्द्धन तथा उद्यमशीलता विकासजस्ता विषयहरू सरकारले सही दिशामा अघि बढेको सङ्केत हुन्।
‘मन्त्रिपरिषद्को शासकीय सुधार कार्यसूचीले मुलुकलाई आर्थिक विकास र समृद्धिको मार्गमा अघि बढाउन महत्वपूर्ण आधार तयार गरेको हामीले महसुस गरेका छौँ,’ उनले भने, ‘महासंघले उठाएका धेरै विषयसमेत यस कार्यसूचीमा समावेश हुनु उत्साहजनक छ।’
उनले सुधार एजेण्डाको प्रभावकारी कार्यान्वयनबाट आर्थिक पुनरुत्थान, नयाँ रोजगारी सिर्जना तथा दिगो विकासमा ठोस परिणाम देखिने विश्वास व्यक्त गरे।
महासंघले पनि सुधार एजेण्डालाई सफल बनाउन सरकार र निजी क्षेत्रबीच सशक्त सहकार्य आवश्यक रहेको उल्लेख गर्दै पूर्ण प्रतिबद्धता जनाएकाे छ।

Comment