काठमाडौँ। प्रहरी प्रधान कार्यालय (हेडक्वाटर) ले तत्काल प्रहरी कर्मचारीलाई बिदामा नछाड्न निर्देशन दिएको छ।
हालको अवस्थालाई मध्यनजर गर्दै देशभर प्रहरीलाई बिदा नदिन हेडक्वाटर प्रशासन शाखाले शनिबार परिपत्र गरेको हो। प्रशासन शाखाका शाखा अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष निरौलाले मातहका निकायलाई पठाएको पत्रमा प्रसूति र किरिया बिदाबाहेक अन्य बिदा नदिने भनिएको छ।
“हालको अवस्थालाई मध्यनजर गरी सुरक्षा व्यवस्थापनमा प्रहरी परिचालन गर्नुपर्ने भएकाले अर्को आदेश नभएसम्मको लागि प्रसूति र किरिया बिदाबाहेक अन्य बिदा नछाड्न तथा सिफारिस नगर्न नगराउन हुन अनुरोध,” पत्रमा भनिएको छ।
यससँगै प्रहरी प्रधान कार्यालयले बिदामा रहेका प्रहरी अधिकृतहरूलाई पनि अविलम्ब काममा फर्किन निर्देशन दिएको छ। पत्रमा भनिएको छ, “हाल कार्यालय प्रमुखको जिम्मेवारीमा रही बिदामा बसेका प्रहरी अधिकृतहरूलाई अविलम्ब कार्यालयमा हाजिर हुने व्यवस्था मिलाउन हुनसमेत अनुरोध।”
प्रहरी प्रधान कार्यालयको प्रशासन शाखाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय, सबै विभाग, ब्युरो, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, काठमाडौँ उपत्यका प्रहरी कार्यालय र सबै प्रदेश प्रहरी कार्यालयलाई पत्राचार गरेको हो।

Comment