आयल निगम निर्देशक भट्टको कार दुर्घटना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले चलाएको सरकारी कार शनिबार दिउँसो कलंकी चोकमा दुर्घटनामा परेको छ। मादक पदार्थ सेवन गरेको आशंकामा स्थानीयले आरोप लगाए पनि ट्राफिकको परीक्षणमा उनले कुनै मादक पदार्थ सेवन नगरेको प्रमाणित भएको छ।

दिउँसो करिब २ बजे बा ७६५४ नम्बरको सरकारी सवारी डिभाइडरमा ठोक्किएपछि स्थानीय बासिन्दाले गाडीलाई घेराबन्दी गरेका थिए। त्यसपछि कलंकी ट्राफिक प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर भट्टलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरी निरीक्षक राजिव बस्नेतले जानकारी दिए।

“कार कंक्रिट डिभाइडरमाथि चढेको अवस्थामा चालकलाई नियन्त्रणमा लिइयो,” निरीक्षक बस्नेतले बताए।

दुर्घटनापछि स्थानीयले भट्टलाई मादक पदार्थ सेवन गरेर गाडी चलाएको भन्दै कारबाहीको माग गर्दै नाराबाजी गरेका थिए। तर, ट्राफिक प्रहरीले मेसिनमार्फत गरेको परीक्षणमा मादक पदार्थ सेवन नगरेको नतिजा आएको बस्नेतले उल्लेख गरे।

उनका अनुसार दुर्घटनाबाट कारको अगाडिको भागमा ठूलो क्षति पुगेको छ।

यता प्रत्यक्षदर्शीहरूले कार तिव्र गतिमा लेन मिच्दै आएको र डिभाइडरमा ठोक्किएपछि चालक भाग्न खोजे पनि भीडले रोकेर प्रहरीलाई बुझाएको बताएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।