हर्क साम्पाङको प्रतिक्रिया : “अब देशमा आन्दोलन मात्रै हुन्छ”

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले देश थप आन्दोलनतर्फ उन्मुख हुने दाबी गरेका छन्।

सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै साम्पाङले आफूले धेरैअघिदेखि राजनीतिक प्रतिशोधको परिणाम यस्तै हुने चेतावनी दिएको उल्लेख गरे। ओखलढुङ्गामा आयोजित कार्यक्रममा बोलेको स्मरण गर्दै उनले भने, “अरू जसले जिते पनि प्रतिशोधको राजनीति हुन्छ, प्रगतिशील राजनीति भने श्रम संस्कृति मात्रै हो भनेर मैले भन्या थिएँ। अब हुने भनेको यही हो—आन्दोलन, आन्दोलन अनि आन्दोलन।”

साम्पाङले पछिल्ला घटनाहरूलाई राजनीतिक द्वन्द्वको ‘अन्तिम संकेत’का रूपमा व्याख्या गर्दै राज्यका प्रमुख अंगहरूमा तोडफोड र आगजनी गराउने मतियारहरूलाई समेत पक्राउ गरी कानुनी कारबाही गर्न माग गरे। “सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र सरकारी संरचना जलाउने, भत्काउने कृत्यका अगुवाहरू को हुन्? उनीहरूलाई पनि पक्राउ पर्नैपर्छ,” साम्पाङले लेखे।

गत भदौ २३ गतेको ‘जेनजी आन्दोलन’ छानबिन आयोगको प्रतिवेदनले दोषी ठहर गरेपछि पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।