काठमाडौं । गृहमन्त्री सुधन गुरुङले देश अब जेनजी पुस्ताको जनादेशअनुसार सुशासन, पारदर्शिता र सुधारको बाटोमै अघि बढ्ने स्पष्ट संदेश दिएका छन्। गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले गलत काम गर्ने कसैलाई पनि अब कुनै हालतमा छुट नदिइने चेतावनी दिए।
‘म धेरै बोल्दिनँ, काममा विश्वास गर्छु,’ भन्दै मन्त्री गुरुङले सेवा प्रवाहलाई सहज, छिटो र प्रभावकारी बनाउन एकद्वार प्रणाली लागू गरिने बताएका छन्। उनका अनुसार नागरिकले एउटै ठाउँमा निवेदन दर्ता गरेपछि अन्य कार्यालय धाउनुपर्ने झन्झट अन्त्य हुनेछ।
सुशासनविरुद्धका क्रियाकलाप सह्य नहुने उल्लेख गर्दै उनले प्रहरी प्रशासनलाई नियम, प्रक्रिया र निष्पक्षताका साथ काम गर्न निर्देशन दिए।
गुरुङले आफ्नो कार्यकालमा भ्रष्टाचारउन्मूलन प्राथमिकता हुने बताउँदै कुनै पनि कामका क्रममा कर्मचारीले घुस वा अतिरिक्त पैसा मागेमा तत्काल जानकारी गरिदिन सर्वसाधारणलाई आग्रह गरे।
उनका अनुसार जनताका अपेक्षा र जेनजी पुस्ताको मागअनुसार गृह प्रशासनलाई आधुनिक र उत्तरदायी बनाउनेतर्फ सरकार दृढतापूर्वक अघि बढ्नेछ।

Comment